अत्यावश्यक कामबाहेक रुपैडिहा नजान आग्रह

 

नेपालगञ्ज – अत्यावश्यक काम बाहेक रुपैडिहा नजान आग्रह गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा बसेको सरोकारवालाहरुको समन्वयात्मक बैठकमा यस्तो निर्णय नै गरिएको हो । नेपालगञ्जदेखि करिव दुई सय किलोमिटर टाढा रहेको लखउनमा समेत कोरोना भाइरस देखिएकाले नेपालगञ्जमा सजकता अपनाउदै अत्यावश्यक कामबाहेक भारत नजान आग्रह गरिएको हो ।
बैठकले विभिन्न समितिहरु गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा मूल व्यवस्थापन समिति (समन्वय) गठन गरिएको छ । जसको प्रवक्तामा डा. राजन पाण्डे रहेका छन् ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाको संयोजकत्वमा आकस्मिक कोष व्यवस्थापन समिति गठन गरिएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाको संयोजकत्वमा उपचार व्यवस्थापन, स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहको संयोजकत्वमा रोकथाम तथा बचावट समिति गठन गरिएको हो ।
बैठकले कोषमा करिव दुई करोड रुपैया रहने गरी निष्कर्ष निकालेको छ । जसमा नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला समन्वय समितिले ३०-३० लाख, उद्योग बाणिज्य संघ र कोहलपुर नगरपालिकाले २०-२० लाख, सबै पालिकाले दश-दश लाख रुपैया राख्ने उद्घोष गरिएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी खड्का, मेयर डा. राणा, उपमेयर उमा थापामगर, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, एसपी वीरबहादुर ओली, नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर, भेरी अस्पतालका मेसु डा. थापा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शाहलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !