दीपक गिरी उपसभापति लड्ने घाेषणा


नेपालगन्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपालगन्जमा आज नेपाली कांग्रेस बाँकेको नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा गरिएको भवन उद्घाटन कार्यक्रममा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । बाँकेसँग लामो समयदेखि आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै उनले नेपालगन्जबाट उपसभापति पदमा लड्ने घोषणा गरे । गिरीले कुन समूहबाट लड्ने भन्ने विषय पछि टुंगो लाग्ने समेत बताए ।

वि.सं. २०३६ सालमा नेविसंघ केन्द्रीय सदस्य भएका गिरी पटक-पटक पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । १४औं महाधिवेशनमा गिरी डा. शेखर कोइराला समूहबाट खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी २०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट सांसद निर्वाचित भएका थिए । गिरी २०७३ मा सिंचाई मन्त्री पनि भएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !