कोहलपुर नगरपालिकालाई २० थान ट्रिगार्ड सहयोग
कोहलपुर– राष्ट्रिय बाणिज्य बैंक कोहलपुर शाखाले कोहलपुर नगरपालिकालाई २० थान ट्रिगार्ड उपलब्ध गराएको छ । कोहलपुर नगरपालिकाले नगरलाई हरियाली बनाउन अभियाननै थालेको छ । नगरका अधिकांश ठाउँमा बोटविरुवाहरु रोपेर नगरलाई सफा, सुन्दर र हरियाली बनाइरहेको छ । कोहलपुर नगरपालिकाको हरित अभियानलाई संघाउ पुर्याउन ट्रिगार्ड उपलब्ध गराइएको शाखा प्रमुख चिरञ्जीवी गिरीले बताए । बैंकको वार्षिकोत्सवको अवसर पारेर बिहीबार नगरपालिकालाई ट्रि गार्ड सहयोग गरिएको गिरीले बताए । लगाइएको बोटविरुवाहरुको संरक्षणमा सहयोग पुगोस भनेर कोहलपुर नगरपालिकालाई २० थान ट्रिगार्ड उपलब्ध गराइएको शाखा प्रमुख गिरीको भनाइ छ ।
नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाको हरित नगर अभियानमा बैंकले गरेको सहयोग अत्यन्तै महत्वपूर्ण र उपयोगी भएको बताए । उनले रोपिएको बोटविरुवाहरुको संरक्षण गर्ने दायित्व स्थानीयबासीको समेत रहेको उल्लेख गरे । सबैको सहकार्य र समन्यका माध्यमबाट मात्रै कोहलपुरलाई हरियाली र सुन्दर सहर बनाउन सकिने नगर प्रमुख आचार्यको भनाइ थियो ।
कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ८ हजार बोटविरुवाहरु रोपेको र अहिले हुर्किनेक्रममा रहेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । छाडा पशुचौपायाँका कारण रोपिएका विरुवाहरुको संरक्षण चुनौतीपूर्ण बनिरहेका बेला ट्रि गार्ड सहयोग गरेर बैंक संरक्षणमा सहयोगी बनेको बताए ।