दशौं राष्ट्रिय खेलकुद : समयमा हुने कि नहुने ठेकेदारको हातमा


नेपालगन्ज – कर्णाली प्रदेशमा हुन थालेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा अझै अन्यौल नै देखिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ठेकेदारले अबको ३५ दिनभित्र काम सकेमा समयमै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताए ।
सुर्खेत पुगेर सबै बस्तुस्थिति बुझेर फर्किएका मन्त्री चौधरीले नेपालगन्जमा पत्रकारसँग कुरा गर्दै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समयमै नभएपनि केही खेल खेलाउने बताए । ठेकेदारले समयमै काम नसकेमा प्रतियोगिता फाल्गुन अन्तिमतिर सर्ने मन्त्री चौधरीको भनाई थियो । ‘कि तोकिएको मिति मंसीरमै हुन्छ । भौतिक संरचनाका कारण ढिलाई भएमा फाल्गुनको अन्तिममा पुग्छ, मन्त्री चौधरीले भने, उद्घाटन अलि सरेपनि केही खेल अगाडि खेलाउँछौं ।’
दशौं राष्ट्रियमा ३६ वटा खेल राखिएको छ । त्यसमध्येमा २२ वटा खेलमात्रै कर्णालीमा हुन्छ । बाँकी खेल नेपालगन्जलगायत अन्यत्र हुने भएको छ । मन्त्री चौधरीले कर्णालीमा २२ वटा या बढीमा २४ वटा खेल हुने र अरु खेल बाँकेमा हुनसक्ने बताए । उनले अरु प्रदेशले पनि केही खेलहरु मागेको खुलासा गरे ।
नेपालगन्जमा बन्दै गरेको सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै बिग्रिएको सम्बन्धमा अध्ययन गर्न जाँचबुझ टोली बनाइसकेको र आफूले पनि घटनास्थलमा गएर हेर्ने मन्त्री चौधरीले बताए । मन्त्री चौधरीले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी, उनका छोराछोरीको पढाई, स्वास्थ्य बिमा, रोजगारीका विषयमा आफू लागि परेको खुलाए ।


error: यो सुविधा उपलब्ध छैन !