नेपालगन्जमा गाईजात्रा


नेपालगन्ज – नेपालगन्जका नेवारहरुले गाईजात्रा निकालेका छन् ।
नेवाः पुच, बाँकेको आयोजना र यहाँ रहेका नेवाः गुठी, खलः र पुचःहरुको सहआयोजनामा मंगलबार नेपालगन्जमा गाईजात्रा निकालिएको हो । दश जना दिवंगत सदस्यहरुको सम्झनामा गाईजात्रा निकालिएको थियो । एक वर्षको अवधिमा दिवंगत भएका नेवाः परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने गरिन्छ ।


दिवंगत परिवारकाबाट फरक फरक श्रृंगार गरिएका देवीदेवता र गाईको प्रतिकात्मक बालबालिका तथा बयस्कको लावा लस्करले नेपालगन्ज बजार परिक्रमा गरेको थियो । देवीदेवताको आवरणमा श्रृंगारिएका बालबालिका, नेवारी पोशाकमा सजिएका महिला, तायमजा, लाखे नाचसहितको झाँकी सुर्खेतरोडबाट घरबारीटोल जाने बाटोबाट निस्केर घरबारीटोल, धम्बोझी, शहीद सेतुविकचोक हुँदै बागेश्वरी पार्कमा गएर समापन भएको थियो ।


समापन कार्यक्रममा नेवार समुदायका अगुवा वरिष्ठ पत्रकार पूर्णलाल चुके, कृष्णप्रसाद श्रेष्ठ, जितेन्द्र जोशीलगायतले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्ने सवालमा नेवार समुदाय अरु भन्दा अगाडि रहेको बताए ।


पितृहरुको स्मरणमा निकालिने गाईजात्रामा सहभागी बटुवालाई सगुन खुवाएमा पितृले मुक्ति पाउने जनविश्वास रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !