धम्बोझी र न्यू दर्पणको फराकिलो जीत


खजुरा – न्यू डाँफे स्पोर्टस क्लबको आयोजनामा बाँकेको खजुरा गाउँपालिकाको डीगाउँस्थित मिनी रंगशालामा जारी नवौ डाँफे कप नक आउट फुटबल प्रतियोगितामा बुधबार धम्बोझी क्लब नेपालगञ्ज र न्यू दर्पण स्पोर्टस क्लब खजुरा ईगाउँले फराकिलो जीत हासिल गरेका छन् ।

प्रतियोगिताको तेश्रो दिनको पहिलो खेल धम्बोझी क्लब नेपालगञ्ज र नेपाल प्रहरीको लुम्बिनी गण खजुरा विच भएको थियो । धम्बोझी क्लबले प्रहरीको लुम्बिनी गणलाई ५-० गोल पराजित गर्याे। धम्बोझका तर्फबाट निराजन शाहीले ह्याट्रिक गरे भने भक्त भण्डारी र अशोक केसीले एक/एक गोल गरेका   थिए । शाहीले खेल शुरुभएको ७, ११ र ५८ मिनेटमा गोल गरेका थिए । खेलको ३५ मिनेटमा भक्त भण्डारीले र ६१ मिनेटमा अशोक केसीले गोल गरेका थिए । धम्बोझी क्लब र प्रहरीको लुम्बिनी गणको खेलमा धम्बोझीकै खेलाडी निराजन शाही म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा न्यू दर्पण स्पोर्टस क्लब खजुरा ईगाउँले जय किसान स्पोर्टस क्लब सैनिकलाई ४-० गोल अन्तरले पराजित गरेकाे छ । न्यू दर्पणका तर्फबाट भुपेन्द्र शाही (चाइना)ले ह्याट्रिक गरे । थप एक गोल मनिष सुनारले गरेका थिए । खेल शुरु भएको ३, ३२ र ५५ मिनेटमा भुपेन्द्रले गोल गरेका थिए भने ५७ औ मिनेटमा मनिसले गोल गरेका थिए । म्यान अफ द म्याच न्यू दर्पणका भुपेन्द्र शाही (चाइना) घोषित भए । दुबै म्यान अफ द म्याचलाई नेपालगञ्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सयका दरले पुरस्कृत गरियाे । प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने छन् । उक्त पुरस्कार राशी हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डीगाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका छन ।

न्यू डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरि प्रकाश विकले प्रतियोगितामा उप विजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ हजारका साथमा मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने जानकारी दिनुभयाे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने क्लबका अध्यक्ष बिकले बताउनु भयाे । प्रतियोगितामा १४ टिमले भाग लिएका छन ।


error: यो सुविधा उपलब्ध छैन !