सेन्ट जेभियर्स मेयर कप फुटबलको क्वाटरफाइनलमा
नेपालगञ्ज – राम जानकी मावि कोहलपुर, नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल र आदर्श माविको पुरुष टिम नेपालगञ्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
राम जानकी माविले सूर्योदय मावि चिसापानीलाई १–० ले हरायो । खेलमा राम जानकीका गणेश आलेले ५१औं मिनेटमा निर्णायक गोल गरेका थिए । खेलमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका आले म्यान अफ द म्याच घोषित भए । उनलाई एचीआरसी हस्पिटलका प्रमुख डा. कुमार सान शाह र नेपालगञ्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष मख्खन धामीले पुरस्कृत गरे ।
दोस्रो खेलमा नेपालगञ्ज सेन्ट जेभियर्सले आदर्श मावि खजुरालाई २–० ले पराजित गरेको छ । सेन्ट जेभियर्सको जितमा बिपिन खड्काले दुबै गोल गरेका थिए । खेलमा उत्कृष्ट बचाउ गरेका सेन्ट जेभियर्सका गोलकिपर सुजन सार्कीले म्यान अफ द म्याचको पुरस्कार पाए । उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ अध्यक्ष विवेक वाजपेयी र नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहले पुरस्कृत गरिन् ।
तेस्रो खेलमा आदर्श मावि नेपालगञ्ज कोहलपुरको बालविद्या मन्दिरलाई ३–१ ले पराजित गरेको छ । आदर्शको जितमा मनिष खड्काले १४औं मिनेट, जेनिस बोहराले ४६औं मिनेट र सन्तोेष बुढा मगरले ५३औं मिनेटमा गोल गरेका थिए । बाल विद्याका लागि प्रतिक सुनारले १६औं मिनेटमा गोल गरे । खेलमा म्यान अफ द म्याचको पुरस्कार आदर्शका सन्तोष बुढा मगरले प्राप्त गरे । म्यान अफ द म्याच घोषित सन्तोषलाई लुम्बिनी प्रदेश सभा सदस्य एवम् संविधान सभा सदस्य बादशाह कुर्मीले पुरस्कृत गरेका थिए ।
बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा २८ छात्र र ५ छात्रा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ ।