बाँकेमा मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता हुने

नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघको आयोजनामा माघको पहिलो सातादेखि मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगिता माघ ६ देखि १३ गते सम्म नेपालगञ्जमा हुनेछ ।
प्रतियोगितामा बाँके जिल्लामा रहेको ८ वटा स्थानीयतहकाे विद्यालयका छात्र/छात्रा टिमहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगिता आयोजनामा नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
बुधबार प्रतियोगिता आयोजना बारेमा नेपालगञ्ज उपमहानगरपालिका र बाँके जिल्ला फुटबल संघ बिच सम्झौता भएको छ । सम्झौता पत्रमा नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाका उपसचिव गोर्खबहादुर थापा र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले हस्ताक्षर गरेका   थिए ।
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा करिब ४० विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले बताए । नेपालगञ्ज उपमहानगरपालिकासँग सम्झौता भएलगत्तै प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढेको चन्दले जानकारी गराए ।
बाँके जिल्ला फुटलल संघले विगतका वर्षमा मेयर कप जिल्ला स्तरीय छात्र–छात्रा प्रतियोगिता आयोजना गर्दै आएको थियो । कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता हुन सकेको    थिएन । माघको ६ गतेबाट सुरु हुने प्रतियोगिताले विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपाल फुटलब संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
उनले भने, ‘हामी निकै उत्साहका साथ विद्यालय स्तरको मेयर कप प्रतियोगिता आयोजना गर्न लागिरहेका छौं । यसले बाँके जिल्लाको फुटबल विकासमा योगदान गर्नेछ । प्रतियोगितालाई भव्य बनाउने तयारी गरिरहेका छौं । मेयर कपले बाँकेको विकासमा नयाँ सम्भावनाको उजागार गर्नेछ ।’
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल टे«निङ सेन्टरमा प्रतियोगिताका खेलहरु हुनेछ । नेपालगञ्ज रंगशालामा सिन्थेटिक ट्रयाक निर्माणको काम जारी रहेकोले प्रतियोगिता धम्बोझीमा गर्नु परेको बाँके जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिताको विजेता टिमले २१ हजार, उपविजेताले ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने संघले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !