थारु अगुवाको ११ बुँदे निष्कर्ष, आन्दोलनको तयारी
नेपालगञ्ज – नेपाली कांग्रेसनिकट थारु नेताहरुले सरकारले अख्तियारलाई आफ्नो प्रभावमा पारेर कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा चलाएको आरोप लगाउदै आन्दोलनको तयारी गरेका छन् ।
नवलपरासीदेखि कञ्चनपुरसम्मका थारु नेताहरुको नेपालगञ्जमा बसेको बैठकले ११ बुँदे निष्कर्षहरु निकाल्दै आन्दोलनको चेतावनी दिएका हुन् । बुधबार विहान कांगे्रस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै थारु नेताहरुले उक्त निष्कर्ष सार्वजनिक गरेका हुन् ।
सरकारले राज्यका सम्पूर्ण संवैधानिक निकायलाई आफ्नो भातृ संंगठनजस्तै परिचालन गर्न खोज्ने प्रवृत्ति देखाएको, प्रतिपक्षी राजनैतिक दलका नेता तथा कार्यकर्तासित प्रतिशोध साध्न संवैधानिक निकायको दुरुपयोग गरेको, रातो झण्डा आढेपछि जस्तोसुकै अपराध गरेपनि छुट पाइन्छ भन्ने मनोविज्ञानबाट पार्टी विस्तारमा उद्दत रहेको, सरकारकै योजनामा ललिता निवास जग्गा प्रकरणमा गच्छदारविरुद्ध राजनैतिक र जातीय पूर्वाग्रह राखी भ्रष्टाचार मुद्दा लगाएको थारु नेताहरुले आरोप लगाएका छन् ।
उनीहरुले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, नेकपाका महासचिव विष्णु पौडेल, राजदुत लिलामणि पौडेल, न्यायाधीश कुमार रेग्मीलाई निर्दोष मानेर गच्छदारलाई मात्रै दोषी कसरी मान्न सकिन्छ भन्ने प्रश्न गरेका छन् ।
थारु नेताहरुले सरकारले तत्काल मुद्दा खारेज नगरेमा विभिन्न पक्षसँग एकताबद्ध भएर चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘पार्टीका नेताहरुसँग कुरा भइरहेको छ । हामी छिट्टै आन्दोलनमा जान्छौं, नेताहरुले भनेका छन् ।
पत्रकार सम्मेलनमा पूर्वमन्त्री रामजनम चौधरी, डा. गोपाल दहित, प्रदेश सांसद डिल्लीबहादुर चौधरी, पूर्वराज्यमन्त्री जनकराज चौधरी, पूर्व सांसद योगेन्द्र चौधरी, गापा अध्यक्ष राधेश्याम चौधरी, पुरन चौधरी, गोविन्दप्रसाद चौधरी, फूलाराम थारु, गौरीशंकर चौधरी, धनीराम थारु, विनोद चौधरी, पुष्कल चौधरी उपस्थित थिए ।