रेडक्रस बाँकेको साधारण सभा, कालपृष्ठले पायो पुरस्कार

नेपालगञ्ज – नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको ३८ औं बार्षिक साधारण सभा बुधवार नेपालगञ्जमा भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै प्रदेश सांसद सुरेन्द्र हमालले मानव सेवा नै सबै भन्दा ठूलो सेवा भएको बताउनुभयो ।
जिल्ला समन्वय समिति, बाँकेका प्रमुख अजय श्रीवास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष विद्याराम वर्माले रेडक्रसले विपतमा राम्रो काम गरिरहेको बताउनुभयो ।
नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकीले बार्षिक प्रगति र २०७७-०७८ को लागि प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले बार्षिक आयव्यय र लेखा परीक्षण प्रतिवेदन र आगमी आ.ब. २०७७-०७८ को लागि ३ करोड ४७ लाख ८५ हजार ५ सयको प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभामा वर्षभरी विभिन्न गतिविधिमा उल्लेखनीय योगदान गर्ने व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो । सञ्चार तर्फ कालपृष्ठ राष्ट्रिय दैनिकलाई नगद ५ हजार र सम्मान पत्र, उत्कृष्ट शिक्षक नायकतर्फ ज्ञानदीप मावि, डलैपुरका शिक्षक नायक राजेन्द्रराज सिग्देललाई नगद ५ हजार र सम्मान पत्र, उत्कृष्ट उपशाखा तर्फ नेरेसो कोहलपुर उपशाखालाई सम्मानित गरिएको छ ।
स्व.खेमराज श्रेष्ठ जुनियर रेडक्रस सर्कल पुरस्कारबाट सिद्देश्वर मावि, फत्तेपुर प्रथम, ज्ञानोदय मावि खजुरा दोस्रो र लक्ष्मी मावि, कोहलपुर तेस्रो हुन सफल जुरेसलाई २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
नेरेसो सदरलाइन उपशाखाको अतिथ्यतामा सम्पन्न सभाको उद्घाटन सत्र नेरेसो सदरलाइन उपशाखाका सभापति ओमप्रकाश आजादको अध्यक्षतामा भएको थियो भने बन्दसत्र नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा भएको थियो ।
सभासद्को तर्फबाट गनापुर उपशाखाका सभापति माया गुरुङ, सञ्चारकर्मीको तर्फबाट नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष रुपा गहतराज, नेरेसो पुरैनी उपशाखाका सचिव शिवकुमार वर्मालगायतले शुभकामना व्यक्त गर्नु भएको ।
सदरलाइन उपशाखा भवनको शिलान्यास
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले नेरेसो सदरलाइन उपशाखा भवन निर्माणको शिलान्यास गर्नु भएको छ । उहाँले भवन निर्माणका लागि उपमहानगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !