फुटबलमा केएमसी र जिभिएनलाई उपाधी
नेपालगञ्ज – हिसान बाँके बर्दिया कपअन्तर्गत फुटबल प्रतियोगिताको उपाधी कोहलपुर मल्टिपल क्याम्पस (केएमसी) र जिभिएन कलेजले जितेका छन् । स्नातकतर्फ केएमसी र प्लस टु तर्फ जिभिएन च्याम्पियन भएका हुन् ।
नेपालगञ्ज रंगशालामा केएमसीले महेन्द्र बहुमुखी क्याम्पसलाइ १–० ले हरायो ।
खेलको २९ औं मिनेटमा प्रितम खड्काले गोल गर्दै केएमसीलाई जित दिलाउन सफल भए । झण्डै २० यार्ड टाढाबाट हानेको प्रहार विपक्षी गोलरक्षकको हातमा लागेर रिबाउण्ड बललाई नियन्त्रणमा लिँदै खड्काले गोल गरेका थिए ।
प्लस टु तर्फको खेलमा जिभिएनले नेपालगञ्ज मोडेल एकेडेमीलाई १–० को गोल अन्तरले नै पराजित गर्यो । जिभिएनलाई जिताउन ६६ मिनेटमा क्षितिज थापामगरले गोल गरेका थिए ।
हिसान स्पोटर्स मिट आयोजक बाँके बर्दिया हिसानका अध्यक्ष अवनिन्द्रदत्त मिश्रले प्रतियोगिताले प्रतिभावान खेलाडी उत्पादनमा सहयोग गरेको बताउनु भयो । प्रतियोगिताको ब्याडमिन्टन, भलिबल, क्रिकेट र फुटबल खेलमा विजयी भएका खेलाडीहरुलाई राखेपका सदस्य सचिव तथा हिसान केन्द्रिय अध्यक्ष रमेश सिलवान, हिसान केन्द्रिय उपाध्यक्ष ईश्वर पोखरेल, हिसानका कार्यक्रम संयोजक पवन गौतमलगायतले पुरस्कार वितरण गर्नुभयो ।
बाँके बर्दिया हिसान कार्यसमितिले आयोजना गरेको हिसान स्पोर्टस मिट शनिबारदेखि शुरु भएको थियो । प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल र ब्याडमिन्टन प्रतियोगिता समावेश गरिएको थियो ।
प्रतियोगितामा बाँके र बर्दिया जिल्लाका २२ विद्यालयले भाग लिएका थिए ।