समयमा काम सक्न निर्माण व्यवसायीलाई आग्रह

खजुरा – बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा निर्माण गर्ने भौतिक पूर्वाधार समयमा सम्पन्न गर्नका लागि निर्माण व्यवसायीसँग अन्तरक्रिया गरेको छ ।
ठेक्का सम्झौता भएदेखि नै निर्माण व्यवसायीसँग हरेक १५ दिनमा समस्या, चुनौती र त्यसको समाधानका लागि गाउँपालिका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र निर्माण व्यवसायीवीच अन्तरक्रिया गरिँदै आएको छ । मंगलबार खजुरा गाउँपालिकामा भएको अन्तरक्रियामा पालिका प्रमुख किस्मतकुमार कक्षपतिले गुणस्तरीय निर्माणसहित समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले सरोकारवाला सबैले सफा नियत राखेर काम गरेमा गुणस्तर निर्माणका साथै तोकिएको समय सीमामा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
अनुगमन समितिका संयोजक समेत रहेका खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले अबको अनुगमन छड्के हुने भन्दै ठेक्का सम्झौतामा भए अनुसारको गुणस्तरीय निर्माण नगर्ने निर्माण कम्पन्नीलाई भुक्तानी दिन वाध्य नहुने बताउनुभयो । उहाँले निर्माण साइडमा व्यवसायी अनिवार्य उपस्थित भएर सम्झौतामा भए अनुरुप काम लगाउन पनि आग्रह गर्नुभयो ।
खजुराका सबै वडामा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । गौरवका योजनादेखि साना योजनासम्म पनि ठेक्कामार्फत गराएर गुणस्तर ल्याउने प्रयास पालिकाले गरिरहेको खजुरा गाउँपालिकाका प्राविधिकहरुले बताएका छन् । अन्तरक्रियामा व्यवसायीले आफुले भोग्नु परेका समस्या राखेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !