भारतीय दुताबासद्वारा भुकम्प प्रभावितलाई सहयोग
नेपालगञ्ज – भारतीय राजदुताबासले जाजरकोट र पश्चिम रुकुमका भुकम्प प्रभावितलाई सहयोग गरेको छ ।
दुताबासले नेपालगञ्ज विमानस्थलमा विभिन्न सामान ल्याएर उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेको हो । राजदुत नविन श्रीवास्तवले रक्षामन्त्री खड्कालाई सामान हस्तान्तरण गरे ।
बनारसबाट राहतको सामान बोकेर इन्डियन एयरफोर्स जहाज सिधैं नेपालगञ्ज विमानस्थलमा ल्याण्ड गरेको थियो । राजदुत श्रीवास्तवले ११ टन भन्दा बढी सामान आज आएको र भोली पनि सामान आउने जानकारी दिए । उनले भारत सरकारले नेपालमा परेको विपत्तिमा सधैं सहयोग गर्ने आश्वासन दिए ।
भारतले औषधी, टेन्ट, स्लिपिङ ब्याग, कम्बल सहयोग गरेको छ । सहयोग बुझ्दै रक्षामन्त्री खड्काले पुनर्निर्माणको चरणमा पनि सहयोग गर्न आग्रह गरे ।
भारताट आएको सामानलाई जाजरकोट र पश्चिम रुकुममा पठाउन बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई निर्देशन दिइएको छ ।