दोस्रो महेश थापा स्मृति फुटसलको सेमिफाइनल समीकरण पूरा


नेपालगञ्ज – नेपालगञ्जमा शुरु भएको रोयल नेपालगञ्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगितामा कोहलपुर फुटसल एण्ड गेम संसार, रोयल नेपालगञ्ज फुटबल क्लव, आयो–गयो एफसी र योङ लाइन्स सेमिफाइनलमा पुगेका छन् ।
नेपालगञ्ज फुटसल मैदानमा भएको प्रतियोगितामा कोहलपुर आरएनएफसी जीमलाई ११–२ गोल र एफसी संघारीलाई १०–२ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । योङ लाइन्स संयुक्त एफसीलाई १५–१ गोल र सूर्य स्पोर्टसलाई ८–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । रोयल नेपालगञ्ज फुटबल क्लव फुटसल मोर्निङ टीमलाई ४–२ गोल र आयो–गयो एफसी ट्राइबेकरमा नेपालगञ्ज राँझा एयरपोर्टलाई ३–२ गोलले पराजित गर्दै र दोस्रोमा बाइ पाएर सेमिफाइनलमा पुगेका हुन् ।
अब सेमिफाइनलमा कोहलपुर र रोयल नेपालगञ्ज तथा आयो–गयो एफसी र योङ लाइन्सका बीचमा खेल हुने आयोजक टीमका मनिष थापाले जानकारी दिनुभयो ।
५५ हजार ५ सय ५५ धनराशीको फुटसल प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी र महासचिव भीमबहादुर रानाभाट, रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि अधिकारी, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष तरुण बज्राचार्य, एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, व्यवसायी अगुवा किसन गुरुङलगायतले रेफ्री केशव रानालाई बल हस्तान्तरण गरेर गर्नु भएको थियो । प्रतियोगितामा द्वितिय हुनेलाई २७ हजार ७ सय ७७ रुपैया पुरस्कार रहेको रोयल नेपालगञ्ज फुटबल क्लवका कोषाध्यक्ष अमृत श्रेष्ठले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !