विश्व हुलाक दिवसमा विविध कार्यक्रम


नेपालगञ्ज – विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय, बांकेले कार्यालयमा सेवाग्राही स्वागत, वृक्षरोपण तथा उत्कृष्ट काम गर्ने कर्मचारी सम्मान लगायतका कार्यक्रम सञ्चालन गरेको थियो ।
सर्व प्रथम आउने दुई जना सेवाग्राहीलाई अविर खादा सहित कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डे लगायतका कर्मचारीले स्वागत गरेका थिए । त्यसैगरी जिल्ला समन्वय समिति, बांकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी लागायतका हुलाकका कर्मचारीले जिल्ला हुलाक कार्यालयको परिषरमा आप, लिची, अम्वा, जामुनका साथै बिभिन्न प्रकारका फूलको वृक्षरोपण गरेका थिए ।
जिल्ला हुलाक कार्यालय, बांकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डेको अध्यक्षतामा सुरु गरिएको कार्यक्रमका  जिल्ला समन्वय समिति, बांकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले जिल्ला हुलाक कार्यालय बांके र मातहतमा रहेर उत्कृष्ठ काम गर्ने खरिदार कमलेश कुमार मौर्य, हल्कारा मन बस्नेत, हुलाकी महेश कुमार यादव, बनकटवाका हुलाक प्रतिनिधि इन्द्रा आचार्य, नौवस्ताका पत्र वितरक थापा तथा कम्दीका पत्र वितरक विष्णु प्रसाद कुर्मीलाई माला खादा सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले संसार भरका दुई सय भन्दा बढी देश सदस्य रहेको बिश्व हुलाक संगठन भरपर्दो निकाय हो । विकसित देशका हुलाकले पत्र मात्र नबोकेर पार्सल बोक्छन् । नागरिकका घरघरमा सामान पुर्याउने काम हुलाकले गर्दछन् । नेपालमा पनि हुलाकमा इकमर्स सेवा संचालन गर्नु पर्ने बताउनु भयो । अतिरिक्त हुलाक संघ बांकेका सचिव जयपाल मौर्यले अतिरिक्त हुलाक खारेज नगरेर यसलाई थप काम दिएर संचालन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष पाण्डेले नेपाल सरकारले हुलाकलाई पुर्नसंरचना गर्ने नीति लिएको बताउदै हाल हवाई द्रुत सेवा सञ्चालन गरेको, सञ्चार गृह तथा सञ्चारकर्मी सम्बन्धी दर्ता नविकरण, लोककल्याणकारी बिज्ञापन व्यवस्थापन, राहदानी ढुवानी लगायतका कामको सुरुवात गरेको बताउदै आउदा दिनमा इकमर्स, विमा सेवाका साथै होम कलेक्सन र डेलीभरीको काम समेत गरेर अगाडी बढ्ने योजना रहेको बताउनु भयो ।
जिल्ला हुलाक कार्यालय बांकेका नायब सुब्बा जंगवीर सुनारले संचालन गरेको कार्यक्रममा नायब सुब्बा शान्ता शाही सिंहले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा जिल्ला हुलाक कार्यालय बांके, इलाका हुलाककार्यालय तथा अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !