सरकारले हरेक दिन नराम्रो काम गरिरहेको छ : रवि लामिछाने

नेपालगञ्ज – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो सरकारले हरेक दिन नराम्रो र अलोकप्रिय काम गरिरहेकाले कति विरोध गर्नु भन्नु भएको छ ।
पार्टीको नेपालगञ्ज नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले दिनदहाडै मान्छे मार्नेलाई छोड्ने सरकारको विषयमा के बोल्नु भन्नुभयो । सभापति लामिछानेले थप्नुभयो, ‘यो सरकारले विहान एउटा, दिउँसो एउटा र बेलुका एउटा अलोकप्रिय र नराम्रो काम गर्छ । हामीलाई सरकारको विरोध गरेनन् भन्छन् । छिनछिनमा नराम्रो काम गर्ने सरकारको कति विरोध गर्नु ? यो सरकारको विरोध गर्ने हो भने त सधैं माइतीघरमा बस्नुपर्छ ।’
सभापति लामिछानेले नेपालगञ्जका रिगल भनिने योगप्रसाद ढकालको आममाफीलाई संकेत गर्दै सरकारले गरेको नराम्रो कामसँग जोड्नु भयो । २०७२ असार २८ गते रिगलसहितको टीमले नेपालगञ्जका चेतन मानन्धरलाई दिउँसै सडकमा खुँडा प्रहार गरेर हत्या गरेको थियो । रिगललाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएपनि यही असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए ।
सरकारले भुटानी शरणार्थी काण्ड, सुनकाण्डमा अनुसन्धान गर्ने प्रहरी अधिकृत र न्यायाधीशसमेतको सरुवा गरेको विषयलाई जोड्दै लामिछानेले यो सरकारसँग जनताले केही आशा गर्नु बेकार भएको टिप्पणी गर्नु भयो । उहाँले भन्नुभयो, यो सरकारलाई मत हाल्ने जनताले पनि भएका गलत कामको भागीदारी लिनुपर्छ ।’
सरकारलाई जनताको मतलव नभएको र राज्यको ढुकुटीमा लुट मच्याइरहेको बताउदै लामिछानेले सरकारले सर्वहाराको नाममा चन्दादाताको लागि नीति बनाउने गरेको बताउनुभयो ।
उहाँले आफ्नो पार्टी विधि र प्रक्रियामा चल्ने बताउदै आफूहरुले भ्रष्टलाई पाल्ने नभई फाल्ने नीति अवलम्बन गरेको बताउनुभयो ।
केन्द्रीय सदस्य रमेश प्रसाईले सरकारको गलत कामको भण्डाफोर गरेका थिए । क्षेत्रीय सभापति विवेक श्रेष्ठको स्वागतबाट शुरु भएको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।


error: यो सुविधा उपलब्ध छैन !