प्रेस युनियनले खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्दै


नेपालगञ्ज – नेपाल प्रेस युनियन, बाँके शाखाले हिन्दु महिलाको पर्व हरितालिकाको अवसरमा तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्ने भएको छ ।

प्रेस युनियन, बाँके शाखाको बैठकले बाँकेमा क्रियाशील महिला पत्रकारहरुलाई लक्षित गरेर तीज सम्बन्धी खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्ने निर्णय गरेको सचिव भिष्म लोधले बताए ।

स्टोरी लेखन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने महिला पत्रकारलाई नगदसहित पुरस्कृत गर्ने शाखाले निर्णय गरेको   छ । तीज पर्वको अवसरलाई युनियन बाँकेले रचनात्मक काम गर्ने उद्देश्यले तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्न लागेको सचिव लोधले बताए ।

प्रतियोगितामा सहभागिताको लागि उनले बाँकेमा क्रियाशील रहेका सम्पूर्ण महिला पत्रकारलाई सार्वजनिक रुपमा आह्वान  समेत गरेका छन् ।

यसैगरी नेपाल प्रेस युनियन, बाँकेका संस्थापक स्वर्गीय पन्नालाल गुप्त ‘चाचा’को ९५औं जन्मजयन्तीको अवसरमा शाखाले विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

युनियन बाँकेले संस्थापक अध्यक्ष गुप्तको जन्मजयन्तीको अवसरमा आगामी भदौं २६ गते पत्रकारहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गर्ने भएको हो ।

बाँकेको पत्रकारितामा महत्वपूर्ण योगदान दिएका संस्थापक अध्यक्ष गुप्तको जीवनी विशेष बिचार गोष्ठी समेत गर्ने निर्णय गरिएको सचिव लोधले जानकारी गराए । गोष्ठीमा गुप्तले मोफसलको पत्रकारिता क्षेत्रको विकासमा पु¥याएको योगदान र पत्रकारिताको बारेमा चर्चा गरिनेछ ।


error: यो सुविधा उपलब्ध छैन !