नेपालगञ्जको बजेट, नीति तथा कार्यक्रम पारित

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
नगरसभाको १३औं अधिवेशनको दोस्रो वैठकबाट शनिबार बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
नगर प्रमुख प्रशान्त विष्टले निर्णायार्थ प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएका हुन् । असार ९ गते बसेको नगरसभाको १३औं अधिवेशनको पहिलो वैठकमा नगर प्रमुख विष्टले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गर्नुभएको थियो ।
उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८०-८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आय व्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो ।
समग्र नगर विकासका लागि वडा कार्यालयहरुसंगको सहकार्यलाई आत्मसाथ गर्दै चालू आर्थिक बर्ष जस्तै आगामी आर्थिक बर्षका लागि पनि २५ करोड रुपैयाँ सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको उपप्रमुख राईले उल्लेख गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले आन्तरिक आय १८ करोड र राजश्व÷अनुदान बचत मौज्दात २० करोड हुने अनुमान गरेको छ । कुल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार र प्रदेश सरकारहरुबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने उपप्रमुख राईले बताउनुभयो ।
नगर प्रमुख विष्टले प्रस्तुत नीति तथा कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक, सामाजिक, मानवीय, पूर्वाधार लगायतको विकासका निम्ति कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गर्नुभयो । आजको वैठकमा उपप्रमुख राई, वडा नम्बर १ का वडा अध्यक्ष एवम् प्रवक्ता प्रमोद रिजाल, वडा नम्बर १८ का वडा अध्यक्ष दीपककुमार बर्मा, वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन र वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठले बोल्नुभएको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !