जिल्ला समन्वय समितिद्धारा डुडुवा भवनको अनुगमन


डुडुवा – जिल्ला समन्वय समिति बाँकेले डुडुवा गाउँपालिकाको नवनिर्मित अत्याधुनिक भवनको अनुगमन गरेको छ । समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले गाउँपालिकाको प्रशासनिक भवनको अनुगमन तथा निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा बोल्दै समितिका प्रमुख चौधरीले मुलुककै पहिलो स्थानीय तहको रुपमा डुडुवाको अत्याधुनिक भवन निर्माण भएको भन्दै छोटो समयमा भवन निर्माण हुनुले सरकारको निर्माण योजनाको प्रभावकारिता देखिएको बताउनुभयो । उहाँले समन्वय समितिको सानो सहयोगले पनि यतिको ठूलो भवन निर्माणले यस क्षेत्रका नागरिकलाई सेवा लिनमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
अनुगमनका क्रममा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो र प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङ्गले कार्यालय भवन विभिन्न कोठालगायतको संरचनाका बारेमा जानकारी गराउदै अवलोकन गराउनुभएको थियो । जिल्ला समन्वय समितिले भवन निर्माणका लागि ४ करोड सहयोग गरेको छ । अनुगमनमा समितिका उपप्रमुख सिता कार्की, सम्पूर्ण सदस्य र कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
डुडुवा वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा १३ करोड २६ लाखको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भएको प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्माले बताउनुभयो । उहाँका अनुसार चार तल्ले भवनमा ५ सय जना क्षमता भएको ठूलो सभागृह, बैठक कक्ष, न्यायका लागि इजलास कक्ष, ३२ वटा कार्यालय कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठूला तथा साना सवारी साधनका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, सुरक्षा गार्ड रुम र लिफ्टसहितको भवन निर्माण भएको छ ।
गाउँपालिकाको भवन अपाङ्गमैत्री, बालमैत्रीसंगै अत्याधुनिक फाउन्टेनको व्यवस्थापन गरिएको छ । रोयल कन्स्ट्रक्सन धनगढीले सम्झौता गरेको अवधीभित्र नै भवन निर्माणकाे कार्य सम्पन्न गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !