लुम्बिनी प्रदेश विश्वविद्यालय स्थलको मुख्यमन्त्री गिरीद्वारा निरीक्षण

नेपालगञ्ज – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बाँकेको खजुरामा बनाउने भनिएको लुम्बिनी प्रदेश विश्वविद्यालय स्थलको निरीक्षण गर्नु भएको छ ।

खजुरा गाउँपालिका वडा नं. ८, रनियापुरमा प्रदेश विश्वविद्यालय बनाउनका लागि सय विगाह जमिन छुट्याइएको छ । जमिन दुई कित्तामा रहेको छ । विश्वविद्यालय स्थलको बुधबार विहान स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री गिरीले तारबार र प्रशासनिक भवन बनाउनका लागि छिटो काम गराउने आश्वासन दिनुभयो ।

लुम्बिनी विश्वविद्यालय बनाउने भनिएपनि अहिलेसम्म तारबार हुन सकेको छैन । बाँकेका सांसद, दलका प्रमुख, खजुरा गाउँपालिकाका जनप्रतिनिधिले विश्वविद्यालयको काम छिटो शुरु गराउन ताकेता दिइरहेका छन् ।

विश्वविद्यालय स्थलको निरीक्षणमा पुगेका सांसद सूर्य ढकाल, प्रदेश सांसद रत्न खत्री, एमालेका जिल्ला अध्यक्ष किस्मत कक्षपति, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, एमालेका युवा नेता भीम वलीलगायतले छिटो विश्वविद्यालयको काम थाल्न आग्रह गरेका थिए । मुख्यमन्त्रीसँगै भिसी विनोद ढकाललगायतको टीम बाँके आएको छ । मुख्यमन्त्रीको उपस्थितिमा नेपालगञ्जमा बैठक पनि राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !