मातृ मृत्युदर घटाउन डुडुवाको विशेष रणनीति


डुडुवा – मातृ मत्युदर तथा नवजात शिशु मृत्युदर घटाउनका लागि बाँके डुडुवा गाउँपालिकाले विशेष रणनीति बनाएकाे छ ।  विगत दुई वर्षदेखि मातृमृत्युदरको अवस्था शुन्यमा झरेको तर चालु आर्थिक वर्षमा एक जना गर्भवती महिलाको मृत्यु भएकाले प्रभावकारी रुपमा व्यवस्थापन गर्न कार्ययोजना निर्माण गरिएको हो ।

गाउँपालिका स्वास्थ्य शाखाद्धारा सोमबार आयोजित सुरक्षित मातृत्व सम्वन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीका सहभागी नर्सिङ्ग कर्मचारीहरुले आगामी दिनमा मृत्युदर शुन्यमा झार्न कार्ययोजना निर्माण गरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख धबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार, डुडुवामा एक जना गर्भवतीको मृत्यु हुनुको कारण भनेको इक्लामसीया रोगका कारण भएको हो, यस्ता राग तथा समस्याबारे पहिलै नै सचेत भई स्वास्थ्यकर्मीसंगको सम्पर्कमा रहनुपर्दछ ।

डुडुवाको कम्दी, बनकट्टी, बेतहानी र हिरिमिनिया गरि ४ स्थानमा प्रभावकारी प्रसुती केन्द्रहरु संचालनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्रबहादुर घलेले बताउनुभयो ।

उहाँका अनुसार, एक वर्षमा करिब एक हजार बढी महिलाहरु संस्थागत सुत्केरी गराउने गरेका छन् भने केन्द्रमार्फत २४ सै घण्टा सेवा उपलब्ध गराइएको छ ।

अभिमुखीकरणमा स्वास्थ्य चौकी इन्चार्ज, स्वास्थ्यकर्मी र नर्सिङ्ग कर्मचारीहरुको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !