भेरी रकर्स र नेपालगञ्ज मोडेलको सहज जित

नेपालगञ्ज – सद्धाव अन्सारीले ९७ रनको योगदान गरेपछि नेपालगञ्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा भेरी रकर्सको पुरुष टिमले सानदार जित हासिल गरेको छ ।

सोमबार मंगलप्रसाद उच्च माविको खेल मैदानमा भेरी रकर्सले बाँके बारियर्सलाई १ सय ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
मंगलप्रसाद उच्च माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भेरी रकर्सले २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय ४६ रन जोडेको थियो ।

प्लेयर अफ द म्याच बन्न सफल भएका रकर्सका सद्धावले ४६ बलमा १३ चौका र ५ छक्का प्रहार गर्दै ९७ रन बनाएका थिए । सतक प्रहार गर्न ३ रन आवश्यक परेका बेला सद्धाव क्याट आउट भएका थिए ।

रकर्स लागि साहिल अन्सारीले ३५ रन, ओपनर साहिद अन्सारीले २९ रन, सद्धाम शेखले १८ र सम्सुद्धिन अन्सारीले १६ रन जोडेको थिए । बाँके बारियर्सका सजल पुन, सिद्धार्थ कश्यप र अविशेख गारुकले १–१ विकेट लिए ।

जवाफमा बाँके वारियर्सका खेलाडीले १३ ओभमा ८४ रन बनाएर अलआउट भएका थिए । वारियर्सका राजन कश्यपले सर्वाधिक २९ रन, इमरान जसगरले १८ रन बाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन् । रकर्सका रोशन कुमार साहु, साहिद अन्सारी र साहिब अन्सारीले २–२ विकेट लिएका छन् ।

प्लेयर अफ द म्याच सद्धावलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ अध्यक्ष तरुण बज्राचार्यले पुरस्कृत गरेका थिए ।
यसैगरी महिला तर्फको खेलमा नेपालगञ्ज मोडेल एकेडेमीले चन्द्रमेवालाल स्कुललाई सहजै १० विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको चन्द्रमेवालालले १४.४ ओभरमा १० विकेटको क्षतिमा ४० रन बनाएको थियो । कमजोर ब्याटिङ गरेको चन्द्रमेवालालका खेलाडीले ब्याटिङ गर्दा १४ रन मात्र जोडेका थिए । उनीहरुले २६ रन अतिरिक्त पाए । टोलीका लागि स्वतिका पाण्डेले बनाएको ६ रन नै व्यक्तिगत रुपमा खेलाडीले बनाएको धेरै रन थियो ।

वलिङ तर्फ प्लेयर अफ द म्याच बन्न सफल नेपालगन्ज मोडेलकी चमेली चौधरी र निरुपमा गिरीले २–२ विकेट लिए ।
जवाफमा नेपालगञ्ज मोडेलले ३.२ ओभरमा विना विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । नेपालगञ्ज मोडेलका लागि अविजित रहँदैं तृष्णा सिंहले २१ र शोभा शाहीले ८ रनको योगदान दिइन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार पुरुष तर्फको खेलमा बिरता क्रिकेट क्लब र नेपालगञ्ज च्याम्प्सले प्रतिस्र्पा गर्नेछन् । महिला तर्फ होलिल्यान्ड बाल शिक्षाबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए ।


error: यो सुविधा उपलब्ध छैन !