स्थानीय निर्वाचनको झल्को दिने गरी ज्ञानोदय स्कूलमा चुनाव
नेपालगञ्ज – स्थानीय निर्वाचनको झल्को दिने गरी खजुराको ज्ञानोदय नमूना माविको विद्यालय व्यवस्थापनको चुनाव भएको छ ।
सत्ता गठबन्धन र प्रतिपक्ष प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा चुनाव भएको छ ।
ज्ञानोदयमा एक हजार ७ सय ७८ जना अभिभावक मतदाता रहेका छन् । एमाले र माओवादी प्यानलबाट नारदप्रसाद शर्मा, रामबहादुर खवास, भीमसरा भण्डारी र कौशिला थापा तथा नेपाली कांग्रेसको प्यानलबाट विकासहरि कोइराला, सहजराम यादव, रमा फुयाल र सरोजाकुमारी यादव चुनावी मैदानमा छन् ।
चार सदस्यका लागि दुई प्यानलबाट आठ जनाले प्रतिस्पर्धा गरेका छन् । चुनावबाट चार जना विजयी भएपछि उनीहरुले दुई जनालाई मनोनित गर्छन् । प्रधानाध्यापक, शिक्षक प्रतिनिधि र जनप्रतिनिधि गरी नौ जनाको कार्य समिति हुन्छ । त्यसमध्येबाट एक जनालाई अध्यक्ष चुनिन्छ ।
निर्वाचन मण्डलका अधिकारीहरुका अनुसार, ५ बजेसम्म मतदान गर्ने र ६ बजेदेखि मत गणना गर्ने तयारी भएको छ ।
खजुरामा यसअघि खानेपानीको चुनावमा पनि दलहरु प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।