शक्ति समूहले सञ्चालनमा ल्यायो, बालमैत्री मनोविमर्श केन्द्र

नेपालगञ्ज – मानव बेचबिखनविरुद्धका काम गर्ने शक्ति समूहले नेपालगञ्जको जमुनाहा नाका र जिल्ला प्रहरी कार्यालय, बाँकेको परिसरमा बालमैत्री मनोविमर्श केन्द्र स्थापना गरेको छ ।

बेचबिखनको जोखिममा परेका र जोखिमपूर्ण यात्रामा रहेका बालबालिकालाई परामर्श दिन शक्ति समूहले दुई ठाउँमा केन्द्र स्थापना गरेको हो ।

बालमैत्री परामर्श केन्द तथा बाल निगरानी कक्षको शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले उद्घाटन गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्यले मानव बेचबिखन रोकथामका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभयो ।

शक्ति समूहकी अध्यक्ष तामाङले आफूहरुले २५ वर्षदेखि बेचबिखन रोकथाम, संरक्षण, क्षमता अभिबृद्धि, सशक्तिकरण र पीडितलाई कानूनी सहयोगको काम गरिरहेको र त्यसकै एउटा कडी बालमैत्री मनोबिमर्श केन्द्र भएको बताउनुभयो । मानव बेचबिखन न्यूनीकरणमा अहिले सञ्चालनमा ल्याइएको संरचनाले ठूलो सघाउ पु¥याउने बताउदै अध्यक्ष तामाङले बाटोमा बसेर गर्नुपर्ने अनुसन्धान र परामर्श अब सुविधायुक्त भवनबाट हुने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, जिल्ला न्यायाधिवक्ता प्रकाश भण्डारी, एसपी सन्तोष राठौर, नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका अध्यक्ष शोभा शाह, ओयुआरका निटलगायतले मानव बेचबिखनजस्तो सामाजिक अपराधलाई रोक्नका लागि सरकारी, गैरसरकारी सबै मिलेर अघि बढ्नु पर्ने बताउनुभयो ।

शक्ति समूहका बालकुमारी दर्लामी र निर्मला पौडेलका अनुसार, शक्ति समूहले देशका १८ वटा जिल्लामा बेचबिखनविरुद्ध काम गरिरहेको छ । ५ वटा सेल्टर होम छन् । एक सय ३१ जना सदस्य रहेको शक्ति समूहले सन् २००९ देखि बाँकेमा काम गर्दै आएको छ । १६ लाख रुपैया खर्च गरेर इलाका प्रहरी कार्यालय, जमुनाहा र जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जको परिसरमा बालमैत्री मनोविमर्श केन्द्र बनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !