फोहोरबाट मासिक ३५ हजार आम्दानी

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा दैनिक निस्किने फोहोरलाई निर्मलीकरण गरेर पुनः प्रयोगमा आउनेलाई बेच्दा मासिक ३५ हजार रुपैया आम्दानी हुने गरेको छ ।

दैनिक दुई सय ५० किलो फोहोर संकलन हुने भेरीमा फोहोर निर्मलीकरण गर्नका लागि २६ लाख र करिव चार लाखका दुई वटा मेसिन छन् । जीआइजेडले दिएको २६ लाखको निर्मलीकरण मेसिन अटोमेटिक हो ।

अस्पतालले फोहोरलाई ढुवानी गर्ने, निर्मलीकरण गर्ने र पृथकीकरण गर्न चार जना कर्मचारी राखेको छ ।

अस्पतालका प्राविधिक सहयोगी गंगा खत्रीका अनुसार, शुरुमा फोहोरलाई वर्गीकरण गरिन्छ । वर्गीकरण गरिसकेपछि निर्मलीकरण गरिन्छ । त्यसलाई फेरि छुट्याइन्छ । बिक्री हुनेलाई एकातिर राखिन्छ भने नबिक्नेलाई नष्ट गर्न पठाइन्छ ।

अस्पतालले एक वर्षदेखि नै यो विधि अपनाइरहेको छ । नेपालका १३ वटा अस्पतालमा यो विधि अपनाइएको छ । भेरी अस्पतालका मेसु डा. बद्री चापागाईले फोहोरलाई मोहोरमा परिणत गर्दा दुई जना कर्मचारीलाई तिर्ने पैसा आम्दानी भइरहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !