ठडिएको ट्रष्ट जीर्ण भयो, भवन बनेन
नेपालगञ्ज – बाँकेको हिरमिनियामा रहेको सरस्वती मावि, भंघोट्नामा १२ वर्षदेखि स्कूल भवन अलपत्र परेको छ ।
आर्थिक वर्ष २०६७-६८ मा जिल्ला शिक्षा कार्यालयले ६०-४० को योजनाअन्तर्गत भवन बनाउन थालेको थियो । १२ लाखको योजनामा शिक्षा कार्यालयले ६० प्रतिशतअन्तर्गत ट्रष्ट र जस्तापाता उपलब्ध गराएको थियो । गाउँ विकास समितिले केही रकम छुट्याएर डीबीसी गरेपछि त्यो ट्रष्ट ठडिएको थियो । जुन अहिलेसम्म त्यही अवस्थामा रहेको छ । शिक्षा कार्यालयले दिएको जस्तापाता स्टोररुममा थन्किएको छ ।
स्कूलमा विद्यार्थीको चाप छ । भवन अभाव छ । बनाउन थालिएको चार कोेठे भवन कहिले बन्ने हो यकिन छैन ।
जिल्ला शिक्षा कार्यालय बदलेर शिक्षा इकाई र गाविसबाट गाउँपालिका बनिसक्यो । पालिकाले बजेटको व्यवस्था नगरेपछि ठडिएको ट्रष्ट जीर्ण भइसकेको छ । पुरानो योजनामा बजेट नदिने पालिकासम्बद्धको भनाईले ठडिएको ट्रष्ट जीर्ण भएर ढलेर जाने अवस्था देखिएको छ ।
स्कूलमा ८ सय ६३ जना विद्यार्थी छन् । दश वटामात्रै कोठा छ । एकदेखि तीन कक्षासम्मका प्रत्येक कक्षामा सय बढी विद्यार्थी छन् । धेरै विद्यार्थीलार्ए एउटै कोठामा कोचेर पढाइ भइरहेको छ । विद्यालयको आन्तरिक स्रोत छैन । अन्यत्रबाट यसका लागि सहयोग जुट्न सकेको छैन ।
प्रधानाध्यापक ज्वाला रेग्मीले आफू आउनु भन्दा पहिलाको योजना भएपनि पूरा गराउनका लागि जताततै धाउदा पनि सहयोग जुट्न नसकेको बताउनुभयो ।