दादुरा संक्रमित सय नाघे, दुई जना अस्पतालमा
नेपालगञ्ज – नेपालगञ्जमा दादुरा संक्रमितको संख्या बढिरहेको छ । दैनिक १८ जना बढी संक्रमित फेला परेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकामा संक्रमितको संख्या सय नाघिसकेको छ । यहाँका दश वटा वडामा संक्रमित फेला परेका छन् । सबैभन्दा धेरै वडा नं. ८ मा २९ जना संक्रमित फेला परेका छन् । वडा नं. ७ मा २८, वडा नं. ११ मा २१, वडा नं. ५ मा १५ जना संक्रमित भेटिएका छन् । बाँकेको खजुरामा दुई जना संक्रमित भएका छन् ।
नेपालगञ्जमा एक सय ८ जना र खजुरामा दुई जना गरी जिल्लामा दादुरा संक्रमितको संख्या एक सय दश पुगेको छ । यहाँ एकजनाको मृत्यु भइसकेको छ । दुई जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।
भेरी अस्पतालमा उपचार भइरहेका बिरामीसँग अस्पतालले शुल्क लिएपछि वडाबाट उपचारका लागि सिफारिस गरी पठाएका स्वास्थ्यकर्मीले आक्रोश पोखेका छन् । निशुल्क उपचार हुन्छ भन्दै दादुरा संक्रमितको खोजपडतालमा निस्केका स्वास्थ्यकर्मीले अस्पतालले बिरामीसँग पैसा लिइदिएपछि काम गर्न अप्ठेरो भएको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले संक्रमण फैलिएको नेपालगञ्जमा संक्रमितलाई भेरी अस्पतालले निशुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएर काम गर्न अप्ठेरो पारेको बताउनुभयो ।
नेपालगञ्जमा संक्रमितको संख्या बढ्दै गएपछि दादुराविरुद्धको खोप अभियान चलाइएको छ । संक्रमण देखिएका वडाका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको छ । पछिल्लो समयमा स्वास्थ्य मन्त्रालयले पनि नेपालगञ्जमा देखिएको दादुराप्रति चासो देखाएको छ । स्वास्थ्य सेवा विभागको टोली नेपालगञ्ज आएको छ ।