हिरमिनियाका किसान आक्रोशित


नेपालगञ्ज – बाँके हिरमिनियाका अर्जुन मौर्यले साइकलमा राखेर लगेको तरकारी कोहलपुरमा नगर प्रहरीले नियन्त्रणमा लियो । भारतीय तरकारीलाई नियन्त्रण गर्ने क्रममा मौर्यले लिएर गएको तरकारी पनि समातियो । मौर्यको तरकारी जफत नै भयो । उनले साइकलसम्म पछि फिर्ता पाए ।

नेपाली किसानले उत्पादन गरेको तरकारीलाई प्रोत्साहन गर्न र भारतबाट ल्याउने तरकारीलाई निरुत्साहित गर्न कोहलपुर नगर प्रहरीले सक्रियता देखाएको छ । नगर प्रहरीले नियन्त्रणमा लिएको तरकारी र व्यक्ति नेपाली हो कि भारतीय भन्ने बुझ्नु पथ्र्यो । त्यसमा चुक्दा हिरमिनियाका मौर्य मारमा परे ।

करिव ३० किलोमिटर टाढादेखि साइकलमा तरकारी बोकेर कोहलपुर पुगेका मौर्यको नाफा त पर जाओस, साँवा र मेहनत नै खेर गयो । मौर्यले चार हजार बराबरको मुला, धनिया, भाजी र पालकको साग बोकेका थिए ।

‘भारतीयलाई पनि रोकेका थिए । मलाई पनि रोके । मैले हिरमिनियाको हुँ भन्दा भन्दै साइकल र तरकारी लिएर गए, मौर्यले भन्नुभयो, नेपाली तरकारी भएको प्रमाण देखाउन भनेका थिए । त्यतिबेला मसँग केही पनि थिएन के देखाउनु । तरकारी दिएनन्, पछि साइकल दिए ।’
बाँके सीमावर्ती जिल्ला हो । सीमासँग जोडिएको नेपालगञ्जसँगै उदाउदो शहर कोहलपुरसम्म भारतीय तरकारी पुग्ने गर्दछ । साइकलको पछाडी झौवामा राखेर भारतीय व्यवसायीले तरकारी घरघर र मण्डीहरुमा पु¥याउँछन् ।

भारतीय व्यवसायीको मारमा यहाँका कृषक परेका छन् । महंगोमा बिजुली, मल, बिउको जोहो गरेर तरकारी उत्पादन गर्ने नेपाली किसानले सरकारी सहयोग र सस्तोमा उत्पादन हुने भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नु परेको छ ।

बाँकेको हिरमिनियालाई तरकारीको हब नै मानिन्छ । यहाँका ९५ प्रतिशत किसानले तरकारी खेती गर्छन् । उनीहरुको नेपालगञ्जदेखि कोहलपुरसम्म तरकारी पु¥याउँछन् । भारतीय किसानले ल्याउने तरकारी रोक्न सकेमा या सरकारले राजश्व लिएर मात्रै छोड्ने गरेमा हिरमिनियाका किसानलाई फाइदा हुने हिरमिनियाका वडाध्यक्ष मोहनराम मिश्र बताउनुहुन्छ । वडाध्यक्ष मिश्रले पछिल्लो दिनमा किसानलाई वडाको सिफारिस दिएर पठाउने गरेका छन् । मिश्रका अनुसार, हिरमिनियाबाट दैनिक तीन सय क्वीन्टल तरकारी नेपालगञ्ज, कोहलपुरलगायत ठाउँमा जाने गर्दछ ।

हिरमिनियाका किसान भगवानदास यादवले तरकारी बोक्ने व्यक्तिसँग नागरिकता जाँच गर्नुपर्ने बताउनुभयो । ‘भारतीय तरकारी नियन्त्रण गर्नुपर्छ । ठाउँठाउँमा बसेर प्रहरीले तरकारी बोक्नेको नागरिकता जाँच गरिदिएमात्रै कहाँको मान्छे र तरकारी हो थाहा भइहाल्छ, यादवले भन्नुभयो, मुश्किलले उत्पादन गरेको तरकारी हचुवाको भरमा जफत गरिदिनु भएन ।’

नेपालगञ्ज र कोहलपुरसम्म पुग्ने तरकारी छोटी नाकाबाट भित्रिन्छ । मुख्य नाकाबाट पनि सुरक्षाकर्मीसँग मिलेर भारतीय व्यवसायी आउने गर्दछन् । नाफाकै लागि नेपालमा आउने भारतीय व्यवसायीले विषादी हालेर तरकारी उत्पादन गर्ने गुनासो आउने गर्दछ । भारतबाट आउने तरकारीलाई नियमन गर्न सकिएको छैन । जसको मारमा नेपाली किसान परेका छन् । हिरमिनियाका वडाध्यक्ष मिश्रले भारतीय तरकारीलाई नियन्त्रण गर्न नसक्ने र हिरमिनियाका किसानको तरकारी जफत गर्ने काम भएमा आन्दोलन नै गर्ने चेतावनी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !