एकै घरका चार जनामा देखियो दादुरा

तस्बिर : गुगल ।

नेपालगञ्ज – नेपालगञ्जमा दादुरा देखा परेको छ ।

नेपालगञ्जको फूल्टेक्रामा एकै घरका चार जना बालबालिकामा दादुरा देखिएको छ । ५ देखि १२ वर्षभित्रका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो । त्यहाँ अरु १७ जना शंकास्पद रहेको स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताउनुभयो ।

लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, स्वास्थ्य कार्यालय, बाँकेको टोली घटनास्थलमा खटिएर शंकास्पदको खोजी गरेका छन् ।

एउटा टोल, बस्तीमा ५ जनासम्म दादुराका बिरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ । फूल्टेक्रामा एकै घरमा चार जनामा दादुरा देखिएकाले महामारीको रुपमा लिदै स्वास्थ्यको टोली परिचालन भएका छन् ।

नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो । यो भनेको दश हजारमा एक जना भन्दा कममा दादुरालाई झार्ने हो । दादुराको खोप नलगाएका या खोप पूरा नगरेका व्यक्तिलाई दादुरा देखिने खोप सुपरभाइजर श्रेष्ठले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !