नेपालगञ्ज म्याराथनको माहोलबाट प्रभावित भए : राजेश हमाल

नेपालगञ्ज – नेपालगञ्ज म्याराथनलाई त्यहाँका नगरबासीले अपनत्वबोध गरेको आफूले अनुभव गरेको नेपाली सिनेजगतका महानायक राजेश हमालले बताएका छन् ।

नेपालगञ्ज म्याराथानबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा हमालले गत वर्ष आफू नेपालगञ्ज म्याराथनमा सहभागी हुँदा त्यसको माहोलबाट प्रभावित भएको बताएका छन् । उनले प्रतियोगीताले शहर र देशलाई नै अन्तराष्ट्रिय स्तरमा चिनाउने अवसरका रुपमा लिनसक्नु पर्ने पनि बताएका छन् ।

सोही अवसरमा एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट नेपालगञ्ज म्याराथनलाई प्राप्त सदस्यता पत्र हमालले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई हस्तान्तरण गरेका थिए । नेपालगञ्ज म्याराथन ऐम्सबाट रुट प्रमाणित र ऐम्सको सदस्यता प्राप्त एक मात्र नेपालको म्याराथन हो । त्यसैको जानकारी दिने उद्देश्यले आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर विष्टले नेपालगञ्ज उपमहानगर नेपालगञ्ज म्याराथनको अभिभावकत्व लिन तयार रहेको बताएका
थिए । कोहलपुर नगरपालिकाका मेयर आचार्यले पनि म्याराथनको अपनत्वबोध भएकाले स्थानीय सरकारबाट गर्न सक्ने सहयोगका लागी आफूहरु त्यार रहेको बताए ।

नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य रघुराज वन्तको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा धावक गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले नेपालगञ्ज म्याराथनमा सहभागी हुँदाको अनुभव सुनाउँदै नेपालगञ्ज म्याराथनको रुट अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट रहेको बताएका थिए ।
नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टि.एस.ठकुरीले नेपालगञ्ज म्याराथनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको बताएका थिए ।

हरेक वर्ष आयोजना हुने नेपालगञ्ज म्याराथनको आठौं संस्करण यसपटक मंसिर २४ गते शनिबार हुने भएको छ । हरेक बर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगञ्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी द्रुत गतिमा अघि बढेको छ ।


error: यो सुविधा उपलब्ध छैन !