सबै प्रतिबद्धता पूरा गर्छुु : इश्तियाक राई
नेपालगञ्ज – जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्ना प्रतिवद्धताहरू दस्तावेजका रूपमा राख्न र चुनावपछि पूरा हुन नसकेका कामहरूप्रति प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन् ।
क्षेत्र नं २ का विभिन्न ठाउँहरूमा शुक्रबार भएका चुनावी सभाहरूलाई सम्बोधन गर्दै उनले उम्मेदवारहरूलाई प्रश्न गर्नका लागि कसैलाई पनि नडराउन भनेका हुन् ।
उम्मेदवारमाथि प्रश्न गर्नु हरेक मतदाताको अधिकार भएको भन्दै उनले त्यो उम्मेदवारका लागि खबरदारी हुने पनि बताए ।
‘म कहिल्यै कतै भागेको छैन । जिते पनि जनतासँगै हुनेछु । अहिले पनि सँगै छु । हारे पनि म जनताकै बीचमा हुनेछु’ उनले भने, ‘मैले यो क्षेत्रको विकासका लागि के के काम गर्छु भनेर सबै कुरा लेखेरै दिएको छु । त्यसलाई सुरक्षित राख्नुहोला, फेरि पाँच वर्षपछि मलाई सोध्न डराउनुपर्ने छैन ।’
जनतालाई कुनै झुठा बाचा र सपनाहरू आफूले नबाँडेको भन्दै चुनावमा बाचा वा प्रतिवद्धता भन्दा पनि काम गर्ने अठोट गरेको उनले बताए ।
नेपालगञ्ज उपमहानगर र डडुवाका विभिन्न क्षेत्रमा चुनावी सभाहरू भएका थिए । ती सभाहरूलाई प्रतिनिधिसभा उम्मेदवार राई तथा प्रदेशसभाका उम्मेदवार आदेशकुमार अग्रवाललगायतले सम्बोधन गरेका थिए ।