तलव भत्ता नलिने डा. राणाको घोषणा

नेपालगञ्ज – राप्रपाका महामन्त्री एवं बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार डा. धवलशमशेर राणाले यसपाली पनि तलव भत्ता नलिने घोषणा गर्नु भएको छ ।

दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा तलव भत्ता नलिएका डा. राणाले सांसदको पनि तलव भत्ता नलिने घोषणा गर्नुभयो । ‘सांसदको तलव ८०-९० हजार कति हुन्छ । त्यो म लिन्न, जनताकै सेवामा लगाउँछु, उम्मेदवार डा.राणाले भन्नुभयो, मैले राजनीति सेवा गर्नका लागि गरेको हो । तलव भत्ता खानका लागि होइन ।’

डा. राणाले डुडुवाको बेतहनीमा भएको कोण सभामा तलव भत्ता नलिने घोषणा गर्नु भएको थियो । अहिले हरेक भाषणमा मैले डुडुवाबाटै तलव भत्ता नलिने घोषणा गरिसकेको जानकारी दिदै आउनु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा डा. राणाले ४२ हजार रुपैया तलव र ८ हजार रुपैया भत्ता भन्दै हरेक महिनाको ५० हजार रुपैया सामाजिक कार्यमा लगाउदै आउनु भएको थियो । डा. राणाले भेरी अस्पताल परिसरमा कोरोनाका विरामीलाई लक्षित गरी सञ्चालन गरेको २० रुपैयामा खाना खुवाउने संस्था, एमबीबीएसमा नाम निकाल्न सफल खजुराकी किशोरीलगायत सामाजिक संघ संस्थालाई तलव भत्ता दिनु भएको थियो ।

चुनावको बेलामा गरिने बाचा प्रायः नेताहरुले पछि विर्सिने गर्दछन् । डा. राणाले भने बोलीलाई कार्यान्वयन गर्दै आउनु भएको छ । डा. राणालाई नेपालगञ्जको ‘ब्राण्ड’ भन्ने गरिन्छ । राप्रपाको राम्रो संगठन नहुँदा पनि डा. राणाले मेयरमा चुनाव जित्नै आउनु भएको थियो । यसपालीको प्रतिनिधि सभा निर्वाचनमा डा. राणालाई एमालेले समर्थन गरेको छ । एमालेले प्रदेशको दुई वटै टिकट लिएर प्रतिनिधि सभामा डा. राणालाई समर्थन गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकामा जस्तो डा. राणालाई चुनाव जित्न सहज भने देखिदैन । नेपालगञ्जमा आफ्नो उपस्थिति बलियो बनाउदै लगेका जसपाका नेता मो. इस्तियाक राईले डा. राणालाई सहज हुन दिने देखिदैन ।

यी दुईसँगै कांग्रेसका सुदीपनरसिंह राणा र शिवसेना समर्थित दिवाकर खनाल चुनावी मैदानमा छन् । नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नं. २ बाट संसद भवन छिर्न नेताहरुको दौडधुप बढ्दो छ । मतदाताको घरदैलोमा पुग्न नेताहरुलाई भ्याइ नभ्याई छ । करिव एक लाख मतदाता रहेको क्षेत्र नं. २ लाई आफ्नो बनाउन नेताहरु लागि परेका छन । यो क्षेत्रमा जुन नेताले जिते पनि आफ्नो पार्टीकोसँगै अरु पार्टीको मत चोर्नु पर्ने देखिन्छ । नेपालकै पुरानोमध्येको शहर नेपालगञ्जलाई कांग्रसका पूर्वसभापति एवं प्रधानमन्त्री स्व. सुशील कोइरालाले आफ्नो चुनावी क्षेत्र बनाएपनि यहाँबाट निरन्तर एकै व्यक्तिले जितेको इतिहास छैन । मो. इस्तियाक त्यो रेकर्ड तोड्न अघि बढ्दा राप्रपाका डा. राणा, कांग्रेसका सुदीप, स्वतन्त्र उम्मेदवार दिवाकर आफू जित्न लागि परेका छन् ।

आचार संहिताका कारण अहिलेसम्म जनता देखाउने कार्यक्रम भएका छैनन् । नेताहरु केही कार्यकर्ताहरु लिएर घरदैलो र भेटघाटमा निस्किरहेका छन् । राजनीति सेवा भएकाले त्यहाँबाट आउने तलव भत्ता लिदै नलिने डा. राणाको घोषणाले यसपाली मतदातालाई कस्तो छाप पार्ला त्यो हेर्न मंसीर ४ गते पर्खिनु पर्ने भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !