यता चुनावको मारामार, जनता हिडे भारततिर
नेपालगञ्ज – के गाउँ, के शहर–चुनावमय बन्दै गएको छ । राजनीतिक दलकासँगै स्वतन्त्र उम्मेदवारले घरघरमा पुगेर हात जोडिरहेका छन् । पाँच वर्षमा एक पटक ‘नेता’ले जनतालाई नमस्कार गर्ने, हात मिलाउने या ढोग्ने ‘पर्व’ नै हो भन्दा हुन्छ, चुनाव ।
‘उम्मेदवार’ले आफ्नो भाग्य भनौ या रोजगारीको ‘परीक्षा’ गरिरहेका छन् । चुनावमा एक पटक मिनेहत गरेपछि पाँच वर्षसम्म मस्तीको जीवन जिउन नेताहरु साम, दाम, दण्ड, भेदको नीति अनुशरण गरेर अघि बढेका छन् ।
देशमा यत्रो चुनावी माहोल बनिरहदा जनता रोजगारीको लागि भारततिर हुँइकिरहेका छन् । यिनीहरुलाई न चुनावमा मत हालेर कसैलाई जिताउने रहर छ न त मत हाल्नु आफ्नो अधिकार हो भन्ने नै हेक्का राखेका छन् । उनीहरुको एउटै प्रश्न छ, ‘कसलाई भोट हालेर हामीलाई के हुन्छ र ?’
कर्णाली प्रदेशका बहुसंख्यक मानिसलाई भारतमा गएर मौसमी मजदुरी गर्ने बाध्यता छ । नेपालीको महान पर्व दशैं र तिहारमा घर आएका उनीहरु यतिबेला धमाधम फर्किरहेका छन् । समूह–समूह बनाएर भारततिर जाने नेपालीको नेपालगञ्ज नाकामा लर्को नै लागेको छ । विशेष गरेर कर्णाली प्रदेशका दैलेख, कालिकोट, जाजरकोट, रुकुम, रोल्पाका मानिस यो नाकाबाट भारततिर गइरहेका छन् । उनीहरुमध्येको धेरैको गन्तब्य भारतको कालापहाड, सिमला, प्रयाग, हैदरावाद, गुजरात हुने गर्दछ । यी स्थानमा नेपालीले दैनिक ज्यालादारीमा मजदुरी गर्दछन् । आफ्नो उत्पादनले तीन महिना पनि खाना नपुग्ने धेरै जना परिवारसहित नै मजदुरी गर्न भारत गइरहेका छन् ।
दैलेखका झम्के सुनारले दशैं, तिहार मनाइयो । चुनावमा भोट हाल्न बसिएन भन्नुभयो । उहाँले थप्नुभयो, ‘हामी मजदुरी गरेर खानेलाई के को चुनाव ? दुई÷चार दिनअघि चाडै गएर काम गरे, अलि पैसा कमाउन सकिन्छ ।’
नेपालगञ्जकै गल्लीहरुमा चुनावी माहौल बढ्दो छ । भारतमा मजदुरी गर्न हिडेका यी नेपाली विभिन्न पार्टीका झण्डा र ब्यानर बोकेर हिडिरहेका नेता तथा कार्यकर्तालाई हेर्दै परदेशतिर गइरहेका छन् । एक जनालाई फकाउन पाएपनि एउटा मत बढ्थ्यो भनेर दौडधुप गरिरहेका नेता तथा कार्यकर्तालाई देखेर सायद परदेशिएकाहरु हाँस्दो हुन् । जो एकजना होइन, हुलका हुल मत नहाल्ने निर्णय गरेर भारततिर गइरहेका छन् । उनका गाउँका नेताले यी परदेशिएकाहरुलाई १५ दिन रोक्न सकेको भए कति मत बटुल्थे होलान् ।
भारतको रुपैडिहाबाट छुट्ने पुराना बसमा नेपालीमात्रै देखिन्छन् । यस्तो दृश्य चाडबाड र धान रोप्ने बेलामा फर्किने र त्यसपछि जानेको हुने गर्दछ । अहिले रुपैडियाबाट नेपालीमात्रै भरिएर दैनिक ८÷९ वटा बस गइरहेको छ ।
नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले दैनिक पाँच सय बढी नेपाली कामका लागि भारततिर गइरहेको बताएको छ । नेपालगञ्ज नाकाबाट किनमेल गर्न जाने नेपालीको संख्या अधिक छ । यसको बीचमा कामका लागि भारत जानेहरु प्रष्ट चिनिने गर्दछ । नाकाबाटै टिकट काटेर यहीबाट बस चढेर कामका लागि जाने भएकाले नेपालीहरु बीच सडकमा लुटिने घटना रोकिएको छ ।