जसपाको २७ वटै वडामा घरदैलो

नेपालगञ्ज – जनता समाजवादी पार्टी, बाँकेले निर्वाचन क्षेत्र नं २ का २७ वटै वडाहरूमा घरदैलो अभियान सुरु गरेको छ। तिहारको पहिलो दिन पार्टीले निर्वाचन क्षेत्रका सबै वडाहरूमा एकैसाथ घरदैलो अभियान सुरु गरेको हो।

डुडुवा गाउँपालिका वडा नं ६, हिरमिनियामा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका नेता तथा प्रतिनिधिसभा बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले घरदैलो अभियानको सुरुवात गरेका हुन्।

त्यसक्रममा उनले चुनावी अभियानमा खटिएका आफ्ना कार्यकर्ता तथा मतदाताहरूलाई आपसी भाइचारा, सद्भाव र विकासका लागि जनता समाजवादीलाई फेरि एकपटक जिताउनका लागि निरन्तर लागिपर्न आह्वान गरेका थिए।

यो निर्वाचन क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिकाका २१ वटा र डुडुवा गाउँपालिकाका छ वटा वडाहरू समेटिएका छन्।

घरदैलो अभियानको सुरुवात गर्दै उम्मेदवार राईले मतदाताले अब फेरि राजा ल्याउन नभएर आफ्ना लागि ‘चौकिदार’ चुन्नेबेला आएको बताए।

उम्मेदवार राईले अहिले प्रतिपक्षीहरूले जसपा र त्यसका उम्मेदवारहरूविरूद्ध झुटा कहानी र भ्रमहरू फैलाउन उद्दत रहेको भन्दै त्यसप्रति सचेत रहन पनि आग्रह गरे। त्यसका लागि जनताका घरघरमा पुगेर आफ्ना काम र उपलब्धीहरूको प्रचार प्रसार गर्न पनि उनले कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।

त्यसक्रममा विभिन्न पार्टी परित्याग गरी जसपा प्रवेश गरेकाहरुलाई राईले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।


error: यो सुविधा उपलब्ध छैन !