इस्तियाकको चुनौती : विकास र भ्रष्टाचारबारे सार्वजनिक बहस गरौं

नेपालगञ्ज – जनता समाजवादी पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तियाक राईले विकास र भ्रष्टाचारका विषयमा सार्वजनिक चोकहरूमा आफूसँग बहस गर्न चुनौती दिएका छन्।

आफ्ना विपक्षी उम्मेदवारहरूले ‘भ्रष्टाचार गरेको र झुटा बाचाहरू गरेको’ भनेर प्रचार गरिरहेको बताउँदै उनले त्यसका लागि सार्वजनिक बहसको सामना गर्न आफू तयार रहेको पनि बताए।

‘कसैले भनिरहेका छन् कि इस्तियाक राईले भ्रष्टाचार गरिरहेको छ, झुटा बाचाहरू गरिरहेको छ। तर म उहाँहरूलाई चुनौती दिन चाहन्छु, धम्बोजी चोक, विपी चोक, त्रिभुवन चोक वा रामलिला मैदान तपाईंहरूले कहाँ भन्नुहुन्छ त्यही ठाउँमा सार्वजनिक बहस गर्न तयार छु‘ उनले भने ‘कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुराको प्रमाण मसँग पनि छ। तपाईंहरूसँग मेराविरूद्ध प्रमाण छ भने लिएर आउन चुनौती दिन्छु। प्रमाणित गरिदिनुस् कि मैले काम गरेको छैन भ्रष्टाचार गरेको छु त्यो बेला म राजनीतिबाटै सन्यास लिनेछु।’

निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उम्मेदवार राईले त्यस्ता भ्रमहरूको पछि नलाग्न र घरदैलोमा आउने विपक्षी दलका नेताहरूलाई ती प्रश्नहरू सोध्न पनि आह्वान गरे।


error: यो सुविधा उपलब्ध छैन !