जुडो खेलाडीको विदाई
नेपालगञ्ज – मंगोलियन जुडो क्लब, खजुराका खेलाडीलाई विदाई गरिएको छ ।
पोखरामा भैरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मंगोलियन जुडो क्लबका ८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । त्यसका लागि बाँकेबाट छनोट भएका खेलाडी शनिबार पोखरा प्रस्थान गरेका छन् ।
प्रतियोगिता खेल्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई कालपृष्ठ दैनिकका कार्यकारी निर्देशक एवम् नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व केन्द्रीय सदस्य कमल खत्री, जावलाखेल गु्रप अफ इन्डिस्ट्रीजका मध्य तथा सुदूरपश्चिम एरिया म्यानेजर उमेश निरौला, साहित्यकार रिचा लुइटेलले विदाई गरे ।
प्रशिक्षक विजय गुरुङले बाँकेको खजुरामा करिब १ सय भन्दा बढी बालबालिकालाई नियमित रुपमा जुडो प्रशिक्षण गराउँदैं आएका छन् । विजयले प्रशिक्षण गराउने मंगोलियन जुडो क्लबका ८ जना खेलाडीले लुम्बिनी र ४ जनाले सुदूरपश्चिम प्रदेशबाट नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा मंगोलियन जुडो क्लबका प्रतिक्षा केसी, सम्झना थापा, बिनिता खत्री, कासीराम माउत, आयुश साउद, निराजन पौडेल क्षेत्री, प्रशन्न गुरुङ, प्रनित जंग सिंह ठकुरीले लुम्बिनी प्रदेशबाट खेलिरहेका छन् ।
प्रतियोगितामा लुम्बिनी प्रदेशबाट १३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ८ जना मंगोलियन क्लबका छन् । कालपृष्ठ दैनिकले मंगोलियन जुडो क्लबबाट राम्रो नतिजा निकाल्ने जुनियर खेलाडीलाई १२ वटा ट्रयाकसुट सहयोग गरेको थियो ।
जावलाखेल गु्रप अफ इन्डिस्ट्रीजका मध्य तथा सुदूर पश्चिम एरिया म्यानेजर उमेश निरौलाले क्लबको नियमित प्रशिक्षण र खेलाडीलाई सक्दो सहयोग गर्ने बताए ।
प्रशिक्षक विजय गुरुङले नियमित रुपमा खेलाडीलाई प्रशिक्षण गराउनका लागि कभर्ड हल अभाव भएको बताए ।