धेरै उम्मेदवारले खर्च विवरण बुझाएनन्

नेपालगञ्ज – स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका धेरै जनाले खर्च विवरण बुझाएका छैनन् ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा बाँकेमा दुई हजार दुई सय जना उम्मेदवार बनेका थिए । तीमध्येमा पाँच सय जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जानकारी दिएको छ । खर्च विवरण बुझाएकाले पनि ढिलोगरी बुझाएका थिए ।

निर्वाचन कार्यालयले खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको नाम सार्वजनिक गरेको छ । नाम सार्वजनिक हुँदासमेत उम्मेदवारले लज्जाबोध गरेका छैनन् ।
बाँकेका ठूला पार्टीका उम्मेदवारले समेत विवरण नबुझाएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ढिलो गरी विवरण बुझाएका छन् । नेपालगञ्जका मेयरमा प्रतिस्पर्धा गरेका अन्य ठूला पार्टीका उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकामध्ये कतिपय मंसीर ४ गतेको संघ र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्ने तरखरमा छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले समयमै विवरण बुझाउनु पर्नेमा बाँकेमा धेरैले नबुझाएको बताउनुभयो । उहाँले नियम, कानूनको पालना गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
निर्वाचन आयोगले उम्मेदवारलाई कडाईका साथ नीति र नियमभित्र रहन बाध्य पार्न नसक्दा जे गरेपनि हुन्छ भन्ने भावनाको विकास भएको देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !