हत्यामा अर्का व्यक्ति पनि संलग्न
नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४, ओढारपुरमा भएको दम्पति हत्यामा अर्का व्यक्ति पनि संलग्न रहेको खुलेको छ ।
साउन ९ गते राती २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीया अञ्जली गडरियाको घरभित्रै हत्या भएको थियो । दाजु विजय गडरिया र भाउजु रेखा गडरियाको योजनामा कृष्ण र अञ्जलीको हत्या भएको थियो ।
दाजु विजय र भाउजु रेखाले ‘पैसा’ दिएर नेपालगञ्जका सकिल अलि शेष, राजन सोनकर र राजु बेहनालाई प्रयोग गरेर कृष्ण र अञ्जलीको हत्या गराएका हुन्् । प्र्रहरीले विजय, रेखा, सकिल र राजनलाई पक्राउ गरेको छ । हत्यामा संलग्न राजु फरार रहेका छन् ।
पक्राउ परेका विजय, रेखाले पटक–पटक बयान फेर्दै आएका छन् । शुरुमा उनीहरुले भारतीय दुई जना सुटरलाई ल्याएर हत्या गराएको बताएका थिए । पछि नेपालगञ्जका दुई सकिल र राजनबाट हत्या गराएको बताए । अहिले आएर फेरि घटनामा राजु पनि संलग्न रहेको खुलाएका छन् । शुरुमा विजयले आफू माथिल्लो तलामा सुतेको बताएका थिए । तर, उनी हत्यामा प्रत्यक्ष संलग्न भएको बयान दिएका छन् ।
भाई र बुहारीको हत्याको योजना विजयले सकिलसँग बसेर बनाएका थिए । ग्यारेजमा काम गर्ने सकिलसँग विजयको पुरानो चिनजान थियो । विजयले भाई र बुहारीको हत्या गर्ने कुरा गरेपछि सकिलमार्फत नै ममता नाम गरेका व्यक्तिलाई दुई लाख रुपैया दिएको खुलेको छ । हत्या गर्ने दिनअघि नै ममता जेल परेपछि घटनाले अर्को रुपमा लिएको थियो । त्यसपछि सकिलले राजन र राजुलाई अपराधमा जोडेका थिए । ५० हजार रुपैया लिएका सकिल, राजन र राजुलाई दाजु विजयले घरभित्र प्रवेश गराएका थिए । पेस्तोल लिएर घरभित्र पसेका उनीहरुले एक राउण्ड फायर गरेका थिए । खोका अड्केपछि फेरि पड्काउन पाएका थिएनन् । त्यसपछि डोरीले घाटी कसेर मार्ने योजना बनेको थियो । कृष्णलाई हत्या गर्न हत्यारालाई धेरै सकस भएको घटनास्थलले देखाएको प्रहरीले बताएको छ । कृष्णले धेरैबेरसम्म प्रतिकार गरेका थिए ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज डीएसपी ऐनबहादुर मल्लले घटनाको रहस्य खुल्दै गइरहेको बताउनुभयो । ‘हत्यामा दुई जनामात्रै संलग्न भनिएको थियो । अनुसन्धान गर्दै जादा चार जना संलग्न रहेको पाइएको छ, डीएसपी मल्लले भन्नुभयो, हत्यामा बाहिरका तीन जना र दाजु विजय प्रत्यक्ष संलग्न थिए ।’
डीएसपी मल्लले राजु बेहना फरार रहेकाले उनीको खोजी गरिरहेको बताउनुभयो । मल्लले हत्याको कारण सम्पत्तिलगायत भएको बताउनुभयो । बाबु आमा तीर्थ गएको मौका छोपेर विजयले बाहिरी मान्छे लगाएर भाई र बुहारीको हत्या गरेका थिए ।