नेपालगञ्जमा हाजिरी छड्के, ३२ जना कर्मचारी गयल
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरु एकसाथ ठूलो संख्यामा अनुपस्थित भएको पाइएको छ । अनुपस्थित रहने कर्मचारीहरुमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बिहीबार उपमहानगरपालिका कार्यालयमा कर्मचारीहरुको हाजिरी छड्के अनुगमन गर्दा ३२ जना कर्मचारीले हाजिरी नगरेको पाइएको हो ।
नगर प्रमुख विष्टका अनुसार, विहान १०.२० बजे हाजिरी रजिष्ट्रर छडके गर्दा १२ जना अधिकृतस्तरका कर्मचारीहरु अनुपस्थित पाइएको हो । उनीहरु मध्ये अधिकाँश शाखा प्रमुखको जिम्मेवारीमा समेत छन् । यसैगरी पाँचौं तहका ७ जना र करार १३ जना कर्मचारी पनि अनुपस्थित पाइएको छ ।
नगर प्रमुख विष्ट सहितको टोलीले दैनिक समयमै कार्यालयमा उपस्थित रहन र समयभित्रै उपस्थिति जनाउन निर्देशन दिएको छ । पहिलो चरणमा हाजिरी छड्के गरेको नगर प्रमुख विष्ट सहितको टोलीले सेवा प्रवाह लगायतका विषयमा पनि निरन्तर अनुगमन गर्ने जनाएको छ ।
नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको हाजिरी रजिष्ट्ररको अनुगमन गरिरहेको नगरपालिकाको टोलीले बिहीबार आकस्मिक रुपमा कर्मचारीको पनि हाजिरीको अनुगमन गरेको छ ।