भारतीय कुखुरा र मासु रोक्न काठमाडौंका व्यवसायी बाँकेमा

नेपालगञ्ज – कुखुरा व्यवसायीले भारतीय रोक्न प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गरेका छन् ।

भारतीय कुखुरा निर्वाध आयात हुँदा आफ्नो व्यवसाय धरापमा परेको भन्दै नेपाली कुखुरा व्यवसायीले नाकामा कडाई गर्न अनुरोध गरेका
हुन् ।

जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका व्यवसायीले विहान आफैले केही पसलको अनुगमन गरेका थिए । त्यसक्रममा धेरै ठाउँमा भारतीय कुखुरा ल्याएर काट्ने गरेको पाइएको व्यवसायीहरुको भनाई थियो । केही भारतीय कुखुरा बरामद गरेर प्रहरीलाई बुझाएका छन् ।

कुखुरा व्यवसायी संघ, बाँकेका अध्यक्ष ईश्वर सुवेदीले भारतीय कुखुराका कारण आफूहरु समस्यामा परेको बताउनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, ‘प्रहरी प्रशासनले भारतीय कुखुरा नरोक्ने हो भने हामीले व्यवसाय बन्द गरे हुन्छ ।’

बाँकेको खुल्ला नाकाबाट अवैध रुपमा भित्रिने कुखुरा मासु काठमाडौंसम्म पुग्ने भएकाले यो नाकामा कडाई गरिदिन नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले आग्रह गर्नुभयो । काठमाडौं, चितवनबाट आएका कुखुरा व्यवसायीले बाँकेबाट भित्रिएको कुखुरा र मासुका कारण देशभर नै असर परेको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले नाकामा थप कडाई गर्ने आश्वासन दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !