निवर्तमान वडाध्यक्षले शिलालेख राख्न छिनो चलाएपछि…

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ मा शिलालेख राख्ने विषयमा विवाद भएको छ ।

निवर्तमान वडाध्यक्ष बुद्धिसागर सुवेदीले आफ्नो कार्यकालमा जनताको पैसाबाट किनिएको ट्याक्टर र फोहोर व्यवस्थापन सम्बन्धी बनेको उपभोक्ता समितिको शिलालेख राख्न वडा कार्यालयभित्रै छिनो चलाएपछि विवाद भएको हो ।

आफ्ना समर्थक लिएर वडा कार्यालयमा पुगेका निवर्तमान वडाध्यक्ष सुवेदीले शिलालेख राख्नका लागि आफैले नापजोख गरेर छिनो चलाएर भित्ता फोर्न थालेपछि पुगेका वडाध्यक्ष तरुण बज्राचार्यले चर्को विरोध गरेपनि काम रोकेका थिएनन् । वडाध्यक्ष बज्राचार्यले प्रहरी बोलाएपछि काममात्रै रोकिएको छैन, शिलालेख नै प्रहरीले लगेको छ ।

यसअघिको वडा सरकारमा सुवेदी वडाध्यक्ष हुँदा बज्राचार्य सदस्य थिए । गएको चुनावमा कांग्रेसले वडाध्यक्षको टिकट नदिएपछि सुवेदी जसपाबाट चुनाव लडेर पराजित भए भने बज्रचार्य विजयी भए । यी दुईका बीचमा लामो समयदेखि विवाद थियो ।

विगतमा नभ्याएको भन्दै सुवेदीले अहिले आएर कुनै सल्लाह नगरी शिलालेख राख्न थालेपछि विवाद भएको थियो । वडाध्यक्ष बज्रचार्यले आफूले बनाएको भवनमा मैले जे गरेपनि हुन्छ भन्ने दम्भ देखाइएको बताउनुभयो । प्रहरीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !