नाला खुलाउन खटिए मेयर विष्ट

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट गएरातीदेखि परेको अविरल पानीको सहज निकासका लागि अवरुद्ध नाला खुलाउन जेसिबीसहित फिल्डमा खटिएका छन् ।

नेपालगञ्जमा गएरातीदेखि विहानसम्म परेको अबिरल बर्षाका कारण ठाउँ-ठाउँमा जमेको पानीको निकासका लागि नगर प्रमुख विष्ट जेसिबीसहित आफैं फिल्डमा खटिएका हुन् । वडा नम्बर ४ र ६ का विभिन्न बस्तीहरुमा पुगेर उनले त्यहाँको अवस्था अवलोकन गरेका थिए ।

वडा नम्बर ४ को सेतु विकचोक नजिकै न्यूरोडमा बागेश्वरी क्युएफएक्सको अगाडि नाला अबरुद्ध हुँदा सडकमा पानी जमेको थियो । जेसिबीले त्यहाँ नाला सफा गरेको थियो । बसपार्कदेखि पुरैनी कान्तिताल जाने बाटोमा वडा नम्बर ६ स्थित टोलमा निकास नपाएर थुनिएको पानीलाई जेसिबीको सहायताबाट ह्युमपाइप सफा गरी निकास दिइएको छ । कतिपय नाला भएको ठाउँमा बाटो र घर वरिपरि जम्मा भएको पानीलाई पनि निकास दिइएको छ ।”बर्षा सुरु हुनुअघि नै हामीले नगरका धेरैजसो नाला सफा गरिसकेका थियौं, धैरै ठाउँमा पानीको सहज निकास भएको देखिएको छ, तर, केही ठाउँमा समस्या देखिएपछि म आफैं ती ठाउँहरुमा पुगेर पानीको निकास दिने काम भएको छ,” नगर प्रमुख विष्टले भने-“कतिपय ठाउँमा बाटो मात्रै बनेको छ, नाला छैन, घर बनेका छन्, पानीको निकास छैन, त्यसकारण समस्या भएको हो, ती ठाउँहरुमा म विहानै पुगेर समस्या समाधान गरिएको छ ।”


error: यो सुविधा उपलब्ध छैन !