हाइड्रोसीलका विरामी खोज्दै निशुल्क अप्रेसन गर्न पठाउँदै

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का ६१ वर्षीय नन्दलाल थारुको ३० वर्षको हुँदा गोरुले लात्ताले हान्दा देब्रे अण्डाकोष सुन्निएको थियो । ठिक भइहाल्ला नि भनेर नन्दलालले अण्डाकोषलाई हल्का तातो कपडाले सेकाएमात्रै ।

३१ वर्ष भइसक्दा पनि नन्दलालको अण्डाकोष सुनिने समस्या समाधान भएन । नन्दलाल कतै उपचार गर्न पनि गएनन् ।
स्वास्थ्य कार्यालय, बाँकेले गाउँगाउँमा थालेको हात्तीपाइले रोगीको तथ्यांक संकलन, रोकथाम तथा व्यवस्थापन अभियानका क्रममा बुधबार नन्दलाल डाक्टरकहाँ आइपुगे । लाज मानीमानी नन्दलालले अण्डाकोषमात्रै देखाएनन्, बेलिबिस्तारमा समस्या बताए ।

डाक्टर संकेत विश्वकर्माले सबै हेरेर जाँच गरेपछि नन्दलाललाई हाइड्रोसील भएको निष्कर्ष सुनाइदिए । नन्दलालको हाइड्रोसील दोस्रो स्टेजमा रहेको बताउदै डा. विश्वकर्माले भेरी अस्पताल, नेपालगञ्जमा अप्रेसनका लागि रिफर गरे ।

नन्दलालले हात्तीपाइले रोगविरुद्धको अभियानका क्रममा वितरण गर्ने औषधी केही वर्ष खाएका रहेछन् । बिरामी भएपछि उनले बीचमा औषधी खान छोडेछन् । बाँकेमा हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम १२ औं चरणमा भइसकेको छ ।

राप्तीसोनारी–७ कै ६० वर्षका राजीतराम बर्माको अण्डाकोष सुन्निएको तीन वर्ष भयो । चोटपटक लागेको थिएन । एक्कासी अण्डाकोष सुन्नियो । उनले कतै औषधी उपचार गरेका छैनन् । हाइड्रोसील भएका विरामीलाई हेर्न डाक्टरको टोली आएको थाहा पाएपछि आएका बर्मालाई डाक्टरले अप्रेसनका लागि भेरीमा रिफर गरेका छन् ।

स्वास्थ्य कार्यालय, बाँकेले यतिबेला जिल्लाका आठ वटै स्थानीय तहमा हात्तीपाइले रोगीको तथ्यांक लिने, विरामीलाई प्रत्यक्ष डाक्टरसँग भेटाएर उपचार विधि सिकाउने र अप्रेसनका लागि रिफर गर्ने गरिरहेको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन दुर्गा गौतमले बुधबार राप्तीसोनारीको ५, ६ र ७ नम्बर वडाका स्वास्थ्य संस्थामा डाक्टरसहितको टीम गएर हात्तीपाइले रोगीको उपचार र अप्रेसन गर्नुपर्नेलाई भेरीमा रिफर गरेको बताउनुभयो । गौतमका अनुसार, अहिलेसम्म नरैनापुरको ५ र ६ नम्बर, डुडुवाको २ र ३ नम्बर, नेपालगञ्जको १५ र २१ नम्बर, जानकीको ५ र ६ नम्बर वडामा डाक्टरसहितको टोलीले उपचार गर्नुका साथै अप्रेसन गर्नुपर्नेलाई रिफर गरेको छ । कोहलपुर, बैजनाथ र खजुरामा टोली जादैछ । अभियानका क्रममा डाक्टरद्वय सन्तोष विसी र संकेत विश्वकर्मा सबै ठाउँमा पुगेका छन् । फोकलपर्सन गौतमले एक सय ४२ जनालाई रिफर गरिसकेको जानकारी दिनुभयो ।

बाँकेमा वि.सं. २०६७ सालदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियान चलिरहेको छ । अभियान शुरु हुँदा बाँकेमा २०.८ प्रतिशत हात्तीपाइले रोगी थिए । १२ औं चरणको औषधी सेवन भइसक्दा जिल्लामा ५ प्रतिशत रोगी छन् । अहिले थालिएको डाक्टरसहितको अभियानका क्रममा आएका विरामीको संख्यालाई हेर्दा जिल्लामा हात्तीपाइलेका विरामी धेरै रहेको आकलन गरिएको छ ।

हर्नियालाई हाइड्रोसील !
बाँकेमा अधिकांश हर्नियाका विरामीले हाइड्रोसील भएको बताउने गरेका छन् । अण्डाकोष सुन्निने बित्तिकै हाइड्रोसील भएको निष्कर्ष निकाल्ने गरिएको छ । स्वास्थ्य संस्थामा खटिएका स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाले पनि अण्डाकोष सुन्निएका व्यक्तिलाई सिधैं हाइड्रोसील भएको बताउने गरेको पाइएको छ ।

राप्तीसोनारीमा डाक्टरद्वय विसी र विश्वकर्माले जाँच गर्दा हाइड्रोसील भन्दै आएका धेरैमा हर्निया देखिएको थियो । राप्तीसोनारी–७ मा १५ जनाको जाँच गर्दा १२ जना त हर्नियाका विरामी फेला परेका थिए । हाइड्रोसील भएको भन्दै आएका उनीहरुमा हर्निया देखिएको हो । हाइड्रोसील भनेर आएका ७ देखि १३ वर्षका अधिकांश बालकमा हर्निया देखिएको थियो । हाइड्रोसीलको निशुल्क अप्रेसन गरिने भएपनि हर्नियाको निशुल्क अप्रेसन हुँदैन ।

गाउँगाउँमा हर्नियाको बिरामीको संख्या उल्लेख्य भएको अहिलेको अभियानको क्रममा देखिएको छ । स्वास्थ्य कार्यालयले हाइड्रोसीलजसरी हर्नियाको पनि निशुल्क अप्रेसनको व्यवस्था मिलाउनु पर्ने आवाज उठेको छ ।


error: यो सुविधा उपलब्ध छैन !