राप्तीसोनारीमा ८८ करोडको बजेट प्रस्तुत
नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि ८८ करोड ३१ लख ४८ हजारको बजेट प्रस्तुत गरेको छ ।
मंगलबार भएको ११ औं गाउँ सभामा उपाध्यक्ष मनिषासिंह थारुले उक्त बजेट प्रस्तुत गर्नु भएको हो । बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन, कृषिलगायतलाई प्राथमिकतामा राखिएको छ ।
गाउँ सभामा अध्यक्ष तप्त पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सामान्य संशोधन गरेर नीति तथा कार्यक्रम पास गरिएको
छ ।
नीति तथा कार्यक्रममा वडाहरु जोड्ने सडक सञ्जालका लागि गुरुयोजना बनाउने, कहाँ जाने सफारी घुमौ राप्तीसोनारी कार्यक्रममार्फत पर्यटन गुरुयोजना बनाउने, विदेशबाट फर्किएकाका लागि सिपालु राप्तीसोनारी कार्यक्रम, मेरो एक दिन कार्यक्रमअन्तर्गत महिनामा कम्तीमा एक दिन जनप्रतिनिधि स्कूलमा जाने, भाषा संस्कृतिको सम्मान, नदी तथा खोलानालामा तटबन्ध निर्माण गरेर बाढी नियन्त्रणलगायतका योजनाहरु समेटिएका छन् ।