अब ‘दौडिन्छ कर्णाली’

कमल खत्री, (सुर्खेत) –
कर्णाली एथलेटिक्समा अपार सम्भावना बोकेको क्षेत्र हो । पहाडी र उच्च हिमाली क्षेत्रले धेरै भूभाग ओगटेकोले हाइ अल्टच्युट प्रतियोगिताहरु आयोजनाका लागि त कर्णाली लोकप्रिय ठाउँमा पर्छ ।

तर कर्णालीमा एथलेटिक्स प्रतियोगिताहरु कमै हुने गरेका छन् । अझ त्यसमा म्याराथन त झन न्युन मात्रमा हुने गर्छ । प्रतिभाको खानी भएको प्रदेशका रुपमा लिइन्छ कर्णालीलाई । त्यसको उदाहरण हुन काठमाडौंमा भएको १३औं सागमा रजत पदक जित्ने पुष्पा भण्डारी । भण्डारीले सल्यानबाट आफ्नो करियरको सुरुआत गरेकी थिइन् । कर्णालीलाई अन्तराष्ट्रिय माझ चिनाउने प्रतिभाको सुचिमा धेरैको नाम आउने गर्छ । त्यसको अग्रपंक्तिमा पर्छन् कर्णालीका हिरा उपनाम पाएका हरिबहादुर रोकाय । रोकायले सिकाएकी चेली विश्व रुपा बुढाले पनि अन्तराष्ट्रिय भूमिमा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् । बुढा जस्तो थुप्रै खेलाडीले देशको राष्ट्रिय जर्सीमा प्रतियोगिता खेलिसकेका छन् ।

कर्णालीले हरेक वर्ष प्रतिभावान खेलाडी उत्पादन गर्ने गरेको छ आफनै मिहिनेतले । तर कर्णालीमा कमै मात्र प्रतियोगिता हुने गर्छन् ।
प्रतिभावान खेलाडी भएर पनि प्रतियोगिताको कमी भएको आभास हुन्छ कर्णालीका सयौं खेलाडीलाई । त्यही अभावलाई मेट्ने प्रयासमा पहिलो पटक सुर्खेतमा प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्र–छात्रा ५ किलो मिटर विद्यालय स्तरको दौड प्रतियोगिता
हुँदैछ ।

शुक्रबार विरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन ।

कर्णाली दोडिन्छ भन्ने नाराका साथ मंगलबार हुने प्रतियोगितामा देशभरका खेलाडीहरुको सहभागिता हुनेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेष्टन फिटनेस सेन्टर सुर्खेतको आयोजनामा हुने लागेको म्याराथन र ५ किलोमिटर दौडमा करिब १ हजार धावकको सहभागिता रहने रेस डाइरेक्टर बिक्रम जंग थापाले बताए । हाफ म्याराथनमा २ सय र विद्यालय स्तरको दौडमा ८ सय भन्दा बढिले प्रतिस्पर्धा गर्ने थापाले बताए । जुन नेपालमा हुने म्याराथनमा सर्वाधिक सहभागितामा पर्ने थापाले पत्रकार सम्मेलनमा बताए ।

आयोजक मिड वेष्टन फिटनेस सेन्टर संस्थापक एवम् कर्णाली प्रदेश खेलकुद विकास परिषद उपाध्यक्ष प्रमोद हमाल कर्णालीमा म्याराथनको स्तर र पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँछन् ।

छोटो समयको तयारीले प्रतियोगिता गर्दा थुप्रै चुनौति भएपनि त्यसलाई समाधान गर्दै अगाडी बढिरहेको बताउँछन हमाल ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र सन्ज्याल काँक्रेविहार खुला पुरुष म्याराथन र स्कुल स्तरीय ५ किलोमिटर दौडले समग्र कर्णालीको खेलकुद गतिविधिलाई बढाउन उर्जा थप्ने बताउँछन् ।

पछिल्लो समय कर्णालीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेको बेला पूर्वाधार निर्माण निकै फड्को मारिरहेको सदस्य सचिव सन्ज्यालले बताए । सुर्खेत जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोग रहेको प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख ६० हजार बजेट आवश्यक पर्ने आयोजकले बताएको छ । त्यसमा कर्णाली प्रदेश खेकलुद परिषदले ६ लाख रकम सहयोग गरेको छ । अन्य अपुग रकम आयोजकले निजि स्तरबाट जुटाउने प्रयास गरिरहेको छ ।

म्याराथनका रेस डिरेक्टर विक्रम जंग थापाले कर्णालीमा हुन लागेको म्याराथनले कर्णाली क्षेत्रको एथलेटिक्स विकासमा नयाँ उचाई थप्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिता अन्तर्गत हाफ म्याराथन तर्फको विजेताले ७१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले ३१ हजार, चौथोले २० हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार रुपैयाँ पाउनेछन । विद्यालय तर्फको ५ किलोमिटर विजेता छात्र–छात्राले समान रुपमा १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पाउनेछन । प्रतियोगिताको रुट विरेन्द्र चौक रहेको छ । विरेन्द्र चौकबाट सुरु हुने म्याराथन बुलबुले, एयरपोर्ट चोक, पिपिरा चौक, धुलियाविट चोक, सुब्बा कुना हुँदैं फर्किएर बधशाला, हिलेखाली पुल, बाङगेसिमल, खोर्केखोला पुल हुँद पुन विरेन्द्र चौकमा आएर समापन हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !