बाटोमै मर्छन् २९ प्रतिशत आमा

नेपालगञ्ज – घरबाट अस्पताल, यो अस्पतालबाट त्यो अस्पताल गर्दा गर्दै २९ प्रतिशत गर्भवती सुत्केरीको बाटोमै मृत्यु हुने गरेको पाइएको छ ।
बेथा लागेपछि ढिलो गरी अस्पताल हिडाउने र अस्पतालहरुले पनि एउटाबाट अर्कोमा रिफर गर्ने गर्दा गर्भवती सुत्केरीको बाटोमै मृत्यु हुने गरेको छ । स्वास्थ्य कार्यालय, बाँकेको तथ्यांकले यस्तो खुलासा गरेको हो ।

लुम्बिनी प्रदेशमै धेरै गर्भवती सुत्केरीको मृत्यु बाँकेमा भइरहेको छ । सुविधा सम्पन्न अस्पताल हुनेमा पनि बाँके अगाडि नै छ । अस्पताल र स्वास्थ्य संस्थाको पहुँच भएर पनि बाँकेमा मातृ शिशु मृत्युदर अधिक रहेको छ ।

बाँकेमा आर्थिक वर्ष २०७७÷७८ मा ४६ जना, २०७६-७७ मा ३५ जना र २०७५-७६ मा २९ जना आमाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय, बाँकेकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले चालु आर्थिक वर्षको ६ महिनामा १४ जना आमाको मृत्यु भएको जानकारी दिनुभयो । ‘थप केहीको मृत्यु भएको छ । हामीले तथ्यांक मिलाउदै छौ, श्रेष्ठले भन्नुभयो ।

नर्स श्रेष्ठले जिल्लामा ४३ प्रतिशत अस्पतालमा, २९ प्रतिशत बाटोमा र १४ प्रतिशत आमाको घरमै मृत्यु भएको बताउनुभयो ।
स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापाले सकेसम्म घरमै बच्चा जन्माउन प्रयास गर्ने र ढिलो गरी अस्पताल ल्याउदा धेरै आमाको मृत्यु हुने गरेको बताउनुभयो । उहाँले भेरी अस्पतालमा चाप बढी रहेको, बच्चा जन्माइसकेपछि भुईमा सुताउनु पर्नेदेखि मेनपावरको कमी पनि आमा मृत्युको कारण भएको बताउनुभयो ।

यो वर्ष मृत्यु भएका धेरै आमा नेपालगञ्ज उपमहानगरपालिकाका छन् । १४ जनामध्ये ६ जना नेपालगञ्जका हुन् । ठूला अस्पताल यही छन् । यातायातको सुविधा छ । तर, पनि सुत्केरी मृत्युदर नेपालगञ्जमै बढी देखिएको छ । नेपालगञ्जसँग जोडिएको जानकी गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ । राप्तीसोनारी र नरैनापुरमा दुई-दुई जना, कोहलपुर नगरपालिकामा एक जनाको मृत्यु भएको छ । गतवर्ष डुडुवामा ७, जानकी र नरैनापुरमा पाँच-पाँच जना, बैजनाथमा चार जना, कोहलपुरमा दुई जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य संस्था र पहुँचको कुरा गर्दा जिल्लामा ११ वटा ठूला अस्पताल छन् । तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, शहरी क्लिनिक ६ वटा, सामुदायिक स्वास्थ्य इकाई दुई वटा, आधारभूत स्वास्थ्य केन्द्र २७ वटा, खोप क्लिनिक २ सय ८३ वटा र गाउँघर क्लिनिक एक सय ४४ वटा छन् ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले नियमित गर्भ जाँच नगर्ने, घरमै बच्चा जन्माउने प्रयास गर्ने, ढिलो गरी अस्पताल लैजानेलगायतका कारणले आमा मृत्यु दर बढी रहेको जानकारी दिनुभयो ।

सरकारले गर्भ रहेको ४, ६, ८ र ९ महिनामा जाँच गर्नेलाई पैसा दिने गर्दछ । पैसा दिंदा पनि नियमित गर्भ जाँच हुँदैछ । यसमा चेतनाको अभाव पनि देखिएको छ । मृत्यु भएका आमालाई समुदायगत हेर्दा मधेसी, मुस्लिम बढी रहेका छन् । बाँकेमा प्रजनन् उमेरका विवाहित महिलाको संख्या एक लाख २९ हजार ३ सय ८९ रहेको छ । अपेक्षित गर्भवतीको संख्या १४ हजार ९ सय १२ जना रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !