रगत जाँच गरेर ‘विवाह कुण्डली’ मिलाउन डाक्टरको सुझाव

नेपालगञ्ज – सिकलसेल रोग रोकथामका लागि थारु समुदायलाई रगत जाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरले सुझाव दिएका छन् ।

सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रुपमा रगत जाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको छ । यतिबेला बाँकेका थारु गाउँहरुमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै छ्याप्छ्याप्ती बाँडिएको छ ।

सिकलसेल विशेषज्ञ डा. राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख गरिएको छ । पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने भनिएको छ । बाहक–बाहक, पचास प्रतिशत सामान्य र पचास प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरिएको छ ।

अहिले रोग नदेखिएपनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ । ‘अहिलेको पुस्तामा रोग देखिएको छैन । तर, उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ,’ स्वास्थ्यकर्मीले भनेका छन्, बिरामी भनेको त लक्षण देखिएको भइहाल्यो ।’
विवाह गर्दा चिना हेर्ने गरिन्छ । थारु समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ । सन्तान, दरसन्तानलाई सिकलसेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै कुण्डली मिलाउनु पर्ने भएको छ ।

बाँकेको थारु बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ । स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले बिरामी र बाहक पत्ता लगाएर उनीहरुलाई विवाह कुण्डलीका बारेमा जानकारी दिने काम भइरहेको बताउनुभयो ।

थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेलका नौ सय जना विरामीले भेरी अस्पतालबाट औषधी खाइरहेको डा. पाण्डेले जानकारी दिनुभयो । उहाँले पश्चिमका विभिन्न जिल्लामा तीन हजार आठ सय तीन जनाले नियमित औषधी खाइरहेको बताउनुभयो । डा. पाण्डेले भेरीमा ७१ वर्षका व्यक्तिको सिकलसेल अप्रेसन गरिएको जानकारी दिदै उसले ७१ वर्षसम्म धेरै दुःख पाएको स्मरण गर्नुभयो ।

डा. पाण्डेले सिकलसेलको रोकथाम भनेकै पूर्वतयारी भएकाले रगत जाँच गरेर कुण्डली मिलाई विवाह गर्दा नियन्त्रण गर्न सकिने बताउनुभयो । ‘बिरामी–बिरामीका बीचमा विवाह गर्नै भएन । बिरामी र बाहकको मात्रा बराबरी छ भने पनि विवाह गर्नु भएन, डा. पाण्डेले भन्नुभयो, रगत जाँचेर कुण्डली मिलाएर विवाह गर्दा यो बंशाणुगत रोग नियन्त्रणमा आउँछ ।’

सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्या भन्दै पश्चिमका अस्पतालहरुमा जाँच र उपचारको व्यवस्था गरेको छ । यतिबेला बाँकेको राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !