‘ड्रिमर अफ नेपालगन्ज’ पूर्व मेयर विजय गुप्ता

बसन्तकुमार उपाध्याय –

स्थानीय तह निर्वाचन सम्पन्न भयो ।जन-प्रतिनिधिहरु बदलिए कति त दोहोरिए पनि ।
तर नगरवासीका अधिकाशं चाहना र ईच्छा भने पुरानै छन् । उहि ढल,सडक,फोहोर,ट्राफिक,सडक बत्ति……आदी ईत्यादी ।
सेवा र सुविधाका हिसावले नेपालगन्ज उपमहानगर कति सक्षम छ त्यो बेग्लै बहसको विषय हुन सक्छ ।

नेपालगन्ज उपमहानगरपालिका देशको नाम जोडिएको एक मात्र शहर हो । नेपालगन्ज नगरपालिका हुँदाका पूर्व मेयर विजय गुप्ताको ‘ड्रिम अफ नेपालगन्ज’ कस्तो थियो त भनेर सोध्दा उनि भन्छन्-‘शहरको बाहिरी भागमा रिङ्गरोडको निर्माण गरी सांस्कृतिक रुपमा नेपालगन्जको सभ्यता झल्काउने गरी ब्यवस्थित बसोवास मिलाउन सके मात्रै नेपालगन्ज ऐतिहासिकता झल्कने शहर बन्छ ।’ गुप्ता थप्छन -‘नेपालगन्ज त गेट वे टू नेपाल हो नि ।’ उनको नजरमा त नेपालगन्ज आर्थिक गतिविधिको केन्द्र हुन सक्नुपर्थ्यो ।

साविकको मध्य तथा सुदूर पश्चिम क्षेत्रकालागि शैक्षिक हब,स्वास्थ्य उपचारका लागी गरिवले उपचार गराउन सक्ने सुविधा सम्पन्न अस्पताल सहित काठमाडौं पछिको दोश्रो विमान स्थल उहाँको ‘नेपालगन्ज ड्रिम’ थियो ।

आँफु मेयर हुँदाका दिन सम्झदै पूर्व मेयर गुप्ता भन्छन् ‘जनताको सहभागिताबाट ल्याण्ड पुलिङ्गको योजना अघि बढाएका थियौं,थप कार्यक्रमका लागी प्रयासरत थिएँ,कति काम भएका पनि थिए । तर ०५१ को राजनीतिक तरलता र पछि सशस्त्र युद्धले सुन्दर नगर बनाउने सपनाहरु अधुरा रहे ।
०४९सालमा नेपाली कांग्रेसको तर्फबाट मेयर भइसकेका गुप्ताले बी.पी.कोईराला अन्तराष्ट्रिय विमान स्थल काठमाडौं पछिको दोश्रो अन्तराष्ट्रिय विमानस्थल नेपालगन्जमा बन्ने प्रक्रिया पनि शुरु भइसकेको स्मरण गरे । ०४९साल तिरै हो जिल्ला विकास समितिमा आयोजित सर्वपक्षिय बैठकमा अन्ताष्ट्रिय विमानस्थल बनाउने विषयमा आबश्यक निर्णय गर्न ‘माईन्युट’ नै भएको थियो । रेकर्डमा छ,अहिले पूर्वमा बन्ने भनिएको अन्तराष्ट्रिय विमान स्थलको विवाद छ । नेपालगन्ज त उतिबेलै तयार थियो । गुप्ता सम्झन्छन् -‘त्यतिबेला नागरिक उड्ययन मन्त्री थिए रामहरी जोशि ।’

पूर्व मेयर गुप्ता नेपालगन्ज शहरका विषयमा उत्साहित हुँदै प्रतिप्रश्न गर्छन-‘हू ईज द ड्रिमर,हू ड्रिम्स द ड्रिम ।’ जसलाई आफ्नो मटोसँग आफ्ना जनतासँग प्रेम छ उसैले आफ्नो ठाउँ आफ्नो गाउँ,आफ्नो शहर सुन्दर बनाउँछ । नेपालगन्जको विकास जति हुनुपर्थ्यो त्यति हुन नसकेकोमा पूर्वमेयर गुप्ताको केन्द्रका शासक प्रति आक्रोस पनि छ । अवधि,अँग्रेजी र नेपाली भाषा मिसाउँदै उनि भन्छन्-‘शासकहरुले नेपालगन्जसँग अधिकार खोसेका छन् ।’

आँफु त एक्सिडेन्टल मेयर भइयो । गुप्ता सम्झन्छन् वास्तवमा मेयरको आकाङ्क्षी उनि थिएनन् । बरु उनका पिता जी पन्नालाल गुप्त ‘चाचा जी’ र सर्वज्ञमान श्रेष्ठ मेयरका दावेदार थिए । परिस्थितिवस आँफु मेयरको उम्मेद्वार भएको सम्झना गरे । उनि भन्छन् त्यो च्याप्टर क्लोज्ड भइसक्यो । पूर्व मेयर गुप्ताकै अगुवाईमा नेपालगन्जको न्यू रोड पनि निर्माण भयो ।

२५ सेप्टेम्बर १९५२मा नेपालगन्जमा जन्मिएका पूर्व मेयर गुप्ता कानुन ब्यवसायी पनि हुन् । कुनै बेला न्यायाधीश पद अस्विकार गरेर चर्चा कमाएका गुप्ता बि.पी.कोईराला २०३३सालमा नेपाल फर्किएसँगै उनिबाट प्रभावित थिए ।

नेपाल ल क्याम्स काठमाडौंबाट कानुनमा स्नातक गरेका गुप्ता ०४२ सालको सत्याग्रह ताका सुर्खेतमा गिरफ्तार भएका थिए । २०४६को पुष १ गते उनि फेरी गिरफ्तार भए ।जनआन्दोलन उत्कर्षमा पुगेपछि मात्रै उनि रिहा भए ।

पछिल्लो दशक उनि नेपाली कांग्रेसबाट अलग्गिएर मधेश केन्द्रित राजनीतिक गतिविधिमा लागे । तर भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको संघारमा उनि मधेश केन्द्रित पार्टीगत राजनीतिबाट अलग भएको घोषणा गरेर न्युट्रल बसेका छन् ।

यतिबेला नेपालगन्जका पूर्व मेयर गुप्ता भ्रष्ट्राचार विरोधी गतिविध,सदाचार,सुशासन र न्यायका पक्षमा जनसरोकारका विषयमा वकालत गरिरहेकाछन् । पूर्व मेयर गुप्ता अँझै जनसेवा मै समर्पित हुन चाहन्छन् । नेपालगन्जका लागी उनि अँझै सपना देख्छन कि नेपालगन्ज हराभरा,सभ्य र सुन्दर शहर बनोस । वास्तवमा ‘ड्रिमर अफ नेपालगन्ज’ हुँ भन्छन पूर्व मेयर विजय गुप्ता आँफुलाई ।


error: यो सुविधा उपलब्ध छैन !