पाँच वर्षमा ५३ वटा विद्यालय भवन

नेपालगञ्ज – खजुरा गाउँपालिकामा पाँच वर्षमा ५३ वटा विद्यालय भवन बनेका छन् । पालिकाले संघ र प्रदेशको समेत सहयोग लिएर यो पाँच वर्षमा ५३ वटा भवन बनाएको हो ।

खजुरामा ६५ वटा विद्यालय छन् । सामुदायिक विद्यालय ३० वटा, मदरसा १७ वटा र निजी विद्यालय १८ वटा छन् । पालिकामा २१ हजारबढी विद्यार्थी छन्, छात्रा ९ हजार ४ सय ५० र छात्र दश हजार ६ सय ८८ जना । विद्यार्थीको संख्या अनुसार भवन थप्ने, शिक्षक मिलाउने काम गरिएको छ ।

पालिकाले भवनसँगै शौचालय निर्माणदेखि आइटी ल्याब, शैक्षिक गुणस्तरीय कार्यक्रमअन्तर्गत विभिन्न सहयोग गरेको पालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।

‘जहाँ विद्यार्थी, त्यही शिक्षक’ भन्ने अभियान चलाएको खजुराले विद्यार्थी र शिक्षकको अनुपात मिलाएको छ । खजुराले ४० जना विद्यार्थी बराबर एक शिक्षकको मापदण्ड बनाएको छ । संघीय हिसावमा ५० जना विद्यार्थी बराबर एक शिक्षक पर्छन् । पञ्चवर्षीय योजना बनाएको पालिकाले करार शिक्षक नियुक्ति गरेर विद्यालयमा पठाएको छ । एक शिक्षक बराबर ४० जना भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा पालिकाले करारमा शिक्षक पठाएको हो ।

शिक्षा शाखा प्रमुख मल्लले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय प्रवेश गराउने र टिकाउने रणनीति अपनाइएको बताउनुभयो । खजुरामा ५ सय ७१ जना बालबालिकालाई विद्यालय बाहिर छन् । गतवर्ष २ सय ९३ जनालाई विद्यालय प्रवेश गराएको मल्लको भनाई छ । यसअघि खजुरामा सात प्रतिशत बालबालिका विद्यालय बाहिर थिए । त्यो भनेको एक हजार एक सय १९ जना हुन आउँछ । जनप्रतिनिधि, शिक्षक, अभिभावक सबैको सहकार्य र जोडबलले बाहिर रहेका बालबालिकालाई विद्यालय प्रवेश गराउने काम भइरहेको छ । शिक्षा शाखा प्रमुख मल्लले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय प्रवेश गराएर टिकाउने र सिकाउने अभियान शुरु गरेको बताउनुभयो । विचैमा विद्यालय छोड्ने, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराएर टिकाउने र सिकाउनका लागि पालिकामा ६ लाख रुपैया बजेट आएको छ । यो बजेटबाट त्यस्ता विद्यार्थीलाई एक हजार छात्राबृत्ति, झोला, पोशाक र स्टेशनरी दिइन्छ । दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई थप आकर्षित गरिरहेको छ ।

केही वडाको तल्लो तहमा विद्यार्थीको संख्या अति नै कम छ । वडा नं. १ र २ मा साना विद्यार्थी प्रायः निजी विद्यालयले तानेको छ । सरकारी विद्यालयमा विद्यार्थीको संख्या कम छ । यस्ता ठाउँमा गुणस्तरीय शिक्षा प्रदान गरेर निजी विद्यालयबाट विद्यार्थी तान्नु पर्ने चुनौती रहेको छ । सरकारी विद्यालयले अभिभावकमा विश्वास दिलाउनु पर्ने आवश्यकता छ । कुनै वडामा धेरै स्कूल हुनु र कुनै कम हुनु स्वभाविक नै मानिन्छ । वडा नं. ३ मा सात वटा मावि स्कूल छन्, सामुदायिक चार र निजी तीन वटा । यहाँ स्कूल धेरै भएकाले बाहिरबाट विद्यार्थी ल्याउनु पर्ने बाध्यता छ । क्याचमेन्ट एरियाका विद्यार्थीले पुग्ने अवस्था छैन । सामान्यतः एउटा मावि चल्नका लागि उसको एरियामा तीन वटा निमावि र निमाविका लागि तीन वटा प्रावि चाहिन्छ ।

चेतनाको अभाव र विपन्नताले गर्दा केही अभिभावकले आफ्ना बालबालिकालाई काममा लगाउने गरेको पाइन्छ । सानैदेखि काममा पठाएर धेरथोर कमाउन लगाइन्छ । यस्ता बालबालिकालाई स्कूलमा ल्याउन र टिकाउन गाह्रो हुने गरेको छ ।

खजुराले शिक्षामा तीन करोड बजेट छुट्याएको छ । गाउँपालिकाको जम्मा बजेट ७४ करोड ७४ लाख ७४ हजार रहेको छ ।

खजुरा गुणस्तरीय शिक्षाका लागि अघि बढेको छ । त्यसका लागि कक्षामा प्रोजेक्टर, स्मार्ट बोर्ड प्रयोग हुँदै गएको छ । कम्प्यूटर ल्याबहरुसँगै आइसीटीलाई बढावा दिने रणनीति बनाइएको छ । शिक्षकको हातहातमा ल्यापटप पु¥याइदैछ । दुई वर्ष कोरोना कहरले दुःख दिएपछि पालिकाहरुले त्यसबाट केही न केही सिकेका छन् । भौतिक उपस्थिति नभएपनि गुणस्तरीय पढाईका लागि बैकल्पिक तरिका अपनाउन जनशक्ति तयार पारेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !