राप्रपाबाट मेयरमा नन्दलाल बैश्य, उपमेयरमा विन्दु चर्तिमगर !
नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नेपालगञ्जको मेयरमा नन्दलाल बैश्य र उपमेयरमा विन्दु चर्तिमगरको नाम चर्चामा आएको छ ।
पछिल्लो समयमा माओवादी केन्द्रमा रहेका नेपालगञ्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बैश्य बिहीबारमात्रै राप्रपामा प्रवेश गरेसँगै मेयरको दावेदार मानिएको छ । हिन्दु धर्मका कट्टर अनुयायी बैश्यलाई राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले पार्टी प्रवेश गराएका छन् ।
राप्रपाबाट ओमप्रकाश आजाद, गौरव चन्द, सफिक बेहना, तेजविक्रम शाहको मेयरमा दावी थियो । बैश्यले पार्टी प्रवेश गरेसँगै उनले नै मेयरको टिकट पाउने नेताहरुले बताएका छन् । राप्रपाका एक नेता भन्छन्, ‘हाम्रो पार्टीबाट मेयरको टिकट बैश्यले पाउँछन् ।’
नेपालगञ्जमा बैश्य समाजको ठूलो उपस्थिति रहेको छ । नन्दलाल त्यो समुदायको अगुवा हुन् । राप्रपाले नेपालगञ्जका रैथाने खोज्ने क्रममा बैश्यलाई अगाडि सारेको छ । दुई पटक नेपालगञ्जका मेयर भएका डा. राणाले बैश्यलाई आफ्नो उत्तराधिकारी बनाउने निर्णयमा पुगेका छन् । नेपालगञ्जमा राप्रपाको सांगाठानिक भन्दा पनि डा. राणाको व्यक्तिगत मतले चुनाव जितेको इतिहास छ । नेपालगञ्जको पुरानो बस्तीमा त्रिभुवनचोक र व्यापारीमा नन्दलाल परिचित नाम मानिन्छ । अहिले मेयरमा नन्दलाललाई अगाडि सार्दा संघीय चुनावमा यहाँको रैथानेको आफूलाई मत आउने डा. राणाको आकलन हुन सक्छ ।
मधेसी समुदायका व्यक्तिलाई मेयर दिंदा उपमेयरमा विन्दु चर्तिमगरको उपस्थिति बलियो भएको छ । राप्रपाले पहाडी समुदायबाट मेयर भए उपमेयर मधेसी र मधेसी समुदायबाट मेयर भए पहाडी समुदायबाट उपमेयरको टुंगो लगाउने रणनीति बनाएको थियो ।
मेयरमा नन्दलालले टिकट आउने पक्कापक्कीजस्तै हुँदा उपमेयरमा चर्तिमगरको संभावना बढेको हो । चर्तिमगर राप्रपाको महिलानेतृ हुन् । नेपालगञ्ज उद्योग बाणिज्य संघमा चुनाव जित्दै आएकी चर्तिमगर चर्चित नाम हो । मेयरमा नन्दलाल र उपमेयरमा चर्तिमगरलाई अगाडि सार्दा पार्टीको उपस्थिति बलियो हुने राप्रपा नेताहरुको भनाई छ ।